२३ जेष्ठ २०८० मँगलवार ।

चितवन ।

स्पर्श , सङ्केत र आवाज

वर्तमानको परिदृश्य-अॉगनमा
अद्भुत स्वप्न-घटना दुर्घटित भएझैं
ढल्दा ढल्दैको
विशाल सालिकले भन्यो-
मलाई ठोक ,
मलाई ढाल वा
मलाई गाल
तर
म ठोकिन्न ,
म ढालिन्न र
म गालिन्न पनि
किनकि
म विचार-ढुंगो हुँ
म आस्था-सालिक हुँ र
म शाश्वत-इतिहास हुँ
त्यसैले म तिम्रो
निर्जीव नीरस-इतिहासको पानामा
सुरक्षित रहने छु
म तिम्रो स्मृति-धरातलमा
सगरमाथाझैं ठडिने छु
तर त्यो वेला तिमीले
रावणको वंश विनाश गर्ने
रघुवंशी ठाने पनि
कंशको उपद्रो रोक्ने
यदुवंशी माने पनि
हिंसालाई अहिंसामा र
क्रान्तिलाई शान्तिमा रूपान्तरण गर्ने
मलाई
महा मसीहा ठाने पनि
सत्यको पर्दा उघारी भनूं भने
म कहिले नहराउने वायु-स्पर्श हुँ
स्खलित नहुने ब्रह्म-शब्द हुँ
म पूर्णात् पूरणमिदं..हुँ
त्यसैले
म एउटा स्पर्श ,
म एउटा सङ्केत र
म एउटा आवाज़ हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0