२०८१ बैशाख २१, बिहीबार
काठमाडौं । नेपाली नागरिकले तिर्दैगरेकाे नियमित चीन प्रवेशाज्ञा अब नि:शुल्क हुने भएकाे छ ।चिनियाँ दुतावासले एक सूचना प्रकाशन गरि बुधबारबाटै शुल्क नलाग्ने जानकारी गराएकाे हाे ।
नेपाल र चीन बिचकाे लामाे मित्रतालाई अझ उचाइमा पुर्याउन साधारणतर्फकाे भिसा शुल्क नलाग्ने निर्णय भएकाे दूतावासले जनाएको छ। यसअघि चिनियाँ दूतावासले नियमित, एक्सप्रेस–१ र एक्सप्रेस–२ भिसाका लागि शुल्क लिने गरेको थियो । नियमित भिसा शुल्क निःशुल्क गरिए पनि एक्सप्रेस–१ भिसाका लागि चार हजार र एक्प्रेस–२ भिसाका लागि दुई हजार सात सय रुपियाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै समूहतर्फ एक्सप्रेस–१ को दुई हजार रुपियाँ र एक्प्रेस–२ को एक हजार ३५० रुपियाँ तिर्नुपर्ने हुन्छ ।
अध्यागमन विभागका अनुसार नेपाली नागरिकलाई नियमित भिसा शुल्क नलिने चीन सरकारको निर्णयले आर्थिक व्यापार, शिक्षा र पर्यटन जस्ता क्षेत्रमा नेपालीलाई फाइदा पुग्ने छ । यस निर्णयले नेपालबाट चीनमा पढ्न जाने विद्यार्थी, व्यवसायी र नेपाली पर्यटकको सङ्ख्यामा समेत बढोत्तरी हुने देखिन्छ । चीनले गत महिना मात्रै स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जम्बर्गलाई भिसा शुल्क नलिने निर्णय गरेको थियो ।
नेपालबाट २०७२ चैत १२ गतेको मन्त्रीपरिषद्को बैठकले चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिने निर्णय गरेको थियो । पछिल्लो समय नेपाल भित्रिने चिनियाँ पर्यटक बढिरहेका छन् भने नेपाली नागरिक पनि उल्लेख्य सङ्ख्यामा चीन गइरहेका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार नेपाल भित्रिने पर्यटकमध्ये भारतपछि दोस्रोमा चिनियाँ पर्यटक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1