रामलाल कुमाल, कालिका

२०८१ बैशाख १८, मँगलबार

कालिका, चितवन । कालिका नगरपालिकामा आँखा उपचार केन्द्र संचालन हुने भएको छ । भरतपुर आँखा अस्पतालकाे प्रविधिक सहयाेगमा आँखा उपचार केन्द्र संचालन गर्न मँगलबार नगरपालिका र भरतपुरआँखा अस्पताल बीच साे विषयमा सम्झौता सम्पन्न भएको  हाे ।

नेपाल नेत्रज्योती संघ, चितवनद्धारा संचालित भरतपुर आँखा अस्पतालले सेवा केन्द्रको रुपमा उपचार केन्द्र संचालन गर्ने योजना सहित नगरपालिका र नेपाल नेत्रज्योतीसंघ चितवन सम्झौता भएको छ ।

आँखामा लाग्ने रोगको उपचार स्थानीय स्तरमै हुनेगरी आँखा उपचार केन्द्र संचालनमा आउने नेपाल नेत्रज्योती संघ, चितवनका सभापति जयराम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार ठूला शल्यक्रिया बाहेक भरतपुर आँखा अस्पतालमा पाइने सबैखालका सेवा सुविधाहरु साे सेवा केन्द्रवाट उपचार हुनेछ । हाल नेपाल नेत्रज्योती संघ केन्द्रको मातहतमा देशभर ४३ वटा शाखा छन् भने चितवन पनि एउटा शाखा हो । भरतपुर आँखा अस्पतालको मातहतमा ३ वटा अस्पतालहरु संचालनमा छन् ।

पर्सा जिल्लाको ठोरी, बारा जिल्लाको सिम्रौनगढ र नवलपुरको कावासोतीमा शाखा संचालन आइसकेका छन् ।नेपालमा १ सय ६० वटा आँखा उपचार केन्द्रहरु स्थापना भएका छन् । भरतपुर आँखा अस्पताल अन्तर्गत कालिका नगरपालिकामा संचालनमा आउन लागेको उपचार केन्द्र २२ औं उपचार केन्द्र हुनेछ ।

केन्द्रकाे अैापचारिक उद्घाटन भने जेठ ३० गते एक कार्यक्रमका बीच हुने छ । नगरपालिकाप्रमुख विनोद रेग्मीका अनुसार लामो प्रयत्न र तैयारी पछि कालिकामा आँखा उपचार केन्द्र स्थापना सम्भव भएकाे हाे। सहज तरिकाले नगरबासीहरु उपचार सेवा पाउन सकुन भन्ने उद्देश्यले कालिका नगरपालिकामै दक्ष प्राविधिकहरुवाट उपचार सेवा संचालनहुने नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

आँखा उपचार केन्द्र संचालनका लागि २ वटा कोठा निशुल्क उपलव्ध गराउने जिम्मा कालिका नगरपालिकाले लिनेगरी सम्झौता भएको उहाँले जानकारी दिनुभयो । आँखा उपचार केन्द्र संचालनार्थ आर्थिक वर्ष २०८० – ८१ देखि निरन्तर पाँचवर्ष सम्म बार्षिक ६ लाख रुपैयाँ नगरपालिकाले भरतपुर आँखा अस्पताललाई रकम उपलव्ध गराउने, उपचार केन्द्र संचालनका लागि अन्य आवश्यक सहयोग उपलव्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।

भरतपुर आँखा अस्पतालले आँखा उपचार केन्द्रका लागि आवश्यकपर्ने औजार, उपकरण, औषधी, चश्मा, लेन्स, तथा कार्यालय संचालनका स्टेशनरी, समान उपलव्ध गराउने लगायतका विषयमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा नेपाल नेत्रज्योती संघ चितवनका सभापति जयराम श्रेष्ठ, नेपाल नेत्र ज्योती संघ, चितवन ,हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान भरतपुर आँखा अस्पतालको तर्फवाट वरिष्ठ अस्पताल प्रशासक दया शंकर चौधरी,, बाह्य कार्यक्रम संयोजक रमेश घिमिरले हस्ताक्षर गरेका छन भने कालिका नगरपालिकाको तर्फवाट नगर प्रमुख विनोद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत चूडामणि शर्मा गौतम, स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0