Open photo

२०८० मङ्सिर १३, बुधबार ।

हरि अधिकारी ,बाँके ।

खजुरा । लुम्बिनी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत स्थापना भै सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले आफ्नाे पहिलो ब्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।

बुधबार नेपालगन्जमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा विश्वविद्यालयले सञ्चालन गरेको ‘बि टेक इन सिएस एण्ड एआई’ र ‘बि टेक इन आइटी’ विषयका स्नातक तहमा भर्ना भएका पहिलो ब्याचका विद्यार्थीलाई विभिन्न विषयमा अभिमुखीकरण गरिएको विश्वविद्यालयका सचिव रेगबहादुर भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा विश्वविद्यालयका डीन कीर्ति जोशीले विश्वविद्यालयले टुरिजम, इन्जिनियरिङ, आइटी, फरेष्ट्री र एग्रीकल्चर गरी पाँचवटा कोर्षमा अध्यापन गराइने योजना रहेकाे र पहिलो वर्षमा इन्जिनियरिङ र आइटी विषयमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । “टुरिजम, इन्जिनियरिङ, आइटी, फरेष्ट्री र एग्रीकल्चर गरी पाँचवटा कोर्षमा अध्यापन गराइने योजना रहे पनि पहिलो वर्षमा इन्जिनियरिङ र आइटी विषयमा मात्र अध्यापन सञ्चालन गरेका छौँ, अन्य विषयहरू आगामी वर्षहरूमा थप गर्दै लैजान्छौँ ।” भन्दै जाेशीले भन्नुभयो।“हाम्रो अन्य कुनै विश्वविद्यालयसँगको प्रतिस्पर्धा होइन । गुणस्तरीय , शिपमुलक र व्यवहारिक शिक्षा प्रदान गरि उत्पादित जनशक्तिलाई जागिर ,व्यवसाय र उद्यमी बन्न सक्ने बनाउनु हाम्राे मूल उद्देश्य भएकाले समाजका लागि उत्तरदायी विद्यार्थी उत्पादन गर्नु हाम्राे जिम्मेवारी हाे ।”

सेवा आयोग सदस्य डा. कृष्णप्रसाद घिमिरेले विश्वविद्यालयले व्यवहारमुखी शिक्षा प्रदान गर्नुपर्ने र विद्यार्थीले पनि व्यवहारिक रुपमा ज्ञान तथा सीप सिकेर लागू गर्नुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव सुमन घिमिरेले विद्यार्थीलाई आफू व्यवस्थापक बन्ने हो कि मालिक बन्ने हो ? भन्ने विषयमा पहिले कन्फर्म हुनुपर्ने बताउनुभयो । उहाँले प्रविधि क्षेत्र अत्यन्तै फराकिलो भएको भन्दै यस क्षेत्रमा विद्यार्थीको भविष्य सुन्दर भएको बताउनुभयो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. विनोदप्रसाद ढकालले विश्वविद्यालयको यो पहिलो वर्ष भएको हुँदा विद्यार्थीलाई केही दुःख, केही असहजता तथा केही समस्या आउन सक्ने भन्दै त्याे विषयलाई म्यानेज गरेर अगाडी बढ्न सल्लाह दिनुभयो । विश्वविद्यालयले इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानमा शैक्षिक सत्र २०८०/०८१ का लागि स्नातक तहमा सञ्चालन भएको कार्यक्रम ‘बी टेक इन सीएस एण्ड एआई’ र ‘बी टेक इन आइटी’मा ५० जना विद्यार्थी भर्ना भइसकेको र पार्ट टाइम तथा फूल टाइम गरी दुई किसिमका शिक्षककाे व्यवस्थापन भइसकेको सचिव भण्डारीले जानकारी दिनुभयो ।

विश्वविद्यालयले ६ जनालाई पूर्ण निःशुल्क, १२ जनालाई शुल्कमा ७५ प्रतिशत छुट, ६ जनालाई स्थानीय तहबाट सिफारिस भएर आए बमोजिम र २४ जनालाई पूर्ण शुल्क तिर्नुपर्ने गरी विद्यार्थी सँख्या निर्धारण गरिएको जनाएको छ । मङ्सिर २० गते बुधबारका दिनदेखि पहिलो वर्षको पहिलो ब्याचका विद्यार्थीहरूको नियमितरुपमा पठनपाठन सुरु हुनेछ ।

लुम्बिनी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत साे विश्वविद्यालय २०७९ असार १८ गते नेपालगञ्जमा स्थापना भएको थियो । खजुरा गाउँपालिकामा भएको जग्गामा विश्वविद्यालयको भौतिक संरचना नबन्दासम्म नेपालगन्जमा भएको प्रशासनिक भवनबाट विश्वविद्यालयले पहिलो वर्षको अध्यापन सञ्चालन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0