२०८१बैशाख १२, बुधबार

प्रकाशबाबु खनाल

रत्ननगर ,चितवन । सामाजिक उद्यमी महिला सहकारी संस्थाको संस्थागत विकास तथा सहकारीले उत्पादन गरेका सामाग्रीको बजारीकरणको लागि प्रदेश सरकारसँग अन्तर्किया गरिएको छ ।

हेफर इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक उद्यमी महिला संजाल नेपाल (सेवा नेपाल)ले भरतपुरमा कार्यक्रमको आयोजना गरेकाे हाे । कार्यक्रममा बागमती सरकारका मन्त्री र सांसदहरुसँग सहकारीले उत्पादन गरेका सामग्री र त्यसको बजारिकरणको बारेमा छलफल गरेको हो ।

कार्यक्रममा उद्यमी महिलाहरुले सामाजिक उद्यमी सहकारीले उत्पादन गरेका सामग्रीको बजारीकरण र संस्थागत विकासमा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

बागमती प्रदेश सरकारका आर्थिक तथा सामाजिक विकास मन्त्री जगन्नाथ गपलियाले उद्घाटन गर्नुभएकाे सो कार्यक्रममा चितवन र धादिङका दुई सामाजिक उद्यमी महिला सहकारीले उत्पादनको क्षेत्रमा गरेका काम र देशभरका सामाजिक उद्यमी महिला सहकारी संस्थाको विकासका लागि सेवा नेपालको योजना, उद्देश्य र परिकल्पना प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले सेवा नेपालको स्थापना, उद्देश्य र परिकल्पना, शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष निर्मला दंगाल र धादिङको आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाकी अध्यक्ष प्रमिला कँडेलले सहकारीले उत्पादनशील क्षेत्रमा गरेको काम र उपलब्धिका बारेमा प्रस्तुती गरेका थिए ।

सो अबसरमा मन्त्री थपलियाले उद्यमशिल महिलाहरु द्वरा स्थापना गरेको सामाजिक उद्यमी महिला सहकारीको विकासका लागि सेवा नेपालले बनाएको कार्ययोजना सफल बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए ।

महिलाको आर्थिक अबस्था उकास्न सकियो भने प्रदेश समृद्ध बन्ने भन्दै उनले सामाजिक उद्यमी महिला सहकारीहरुलाई अघि सारेर त्यसका लागि काम गर्ने बताए । सामाजिक उद्यमी महिला सहकारीहरुको काम र प्रदेश सरकारको काम मेल खाने भन्दै त्यस प्रकारका काममा निर्धक्क भएर सहकार्य गर्न सकिने उनको भनाई छ ।

कार्यक्रममा बागमती प्रदेशका निर्वतमान स्वास्थ्यमन्त्री उत्तम जोशीले देशको अर्थतन्त्रमा प्रभाव पार्ने सहकारीहरुमा समस्या देखिएको भन्दै सहकारीलाई पछाडि धकेल्न नहुने विचार व्यक्त गर्नुभएकाे थियाे ।

हेफर इन्टरनेशन नेपालका बजार प्रतिनिधि राजकुमार अधिकारीले विपन्न समुदायका महिलाहरुलाई सामाजिक उद्यमी सहकारी संस्थामा आबद्ध गराई उनीहरुको जीवन स्तर उकास्न सेवा नेपालसँग सहकार्य गरी काम गरिरहेको बताए । सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेले देशभरका सामाजिक उद्यमी महिला सहकारी संस्थाहरुको संस्थागत विकास र उनीहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणको लागि संस्था स्थापना गरिएको बताउनुभयाे ।

उनले देशभरका एक हजार सहकारीहरुलाई संस्थाका आबद्ध गराई १५ लाख शेयर सदस्य बनाउने, २० अर्ब पूजि सहितको महिला उद्यमी बैंक स्थापना गर्ने, महिला उद्यमी सहकारी एकताबद्ध भई महिलाहरुकै नेतृत्वमा महिला उद्यमी व्यवसाय, उद्योग तथा विश्व विद्यालय स्थापना गर्ने दसबर्षे रणनीतिक योजना तयार गरिएको जानकारी दिइन् ।

उनले कृषि र पशुपालन मार्फत महिलाहरुको जीवन स्तर उकास्न सामाजिक उद्यामी महिला सहकारी संस्थाहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणमा राज्यसँग मिलेर काम गर्ने बताइन् ।

सोही कार्यक्रममा राष्ट्रिय सहकारी महासंघको तर्फबाट सञ्चालक सदस्य तथा प्रदेश समन्वय उपसमितिकी संयोजक समेत रहेकी अध्यक्ष न्यौपाने द्वारा प्रदेश सरकारका अर्थमन्त्री थपलियालाई मागपत्र समेत बुझाएकाे छ ।

कार्यक्रममा शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाको सांस्कृतिक समूहले रत्यौली खेलेर संकलन गरेको १५ हजार रुपैया सेवा नेपालको स्रोत केन्द्र भवन निर्माणमा सहयोग हस्तान्तरण गरेका थिए ।

सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी सांसद मायादेवी शर्मा, महिला समुह समन्वय समितिकी अध्यक्ष इन्दिरा पौडेल, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भीष्मराज खनाल, उद्योग तथा बाणिज्य कार्यालय भरतपुरकी प्रतिनिधि कृष्णा श्रेष्ठ, मोक्षलय बहुउद्देयीय प्रा.लि.का मनिष पौडेल लगायतले मन्तव्य राखेका थिए ।

सेवा नेपालकी सचिव कल्पना रिमालले सञ्चालन गरेको सो कार्यक्रममा प्रदेश समिति संयोजक शैलजा घिमिरेले स्वागत मन्तव्य राखिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0