२०८१ बैशाख ११, मङ्गलबार

नेकपा स्थापनाको ७५ वर्ष पुरा भई ७६ वर्ष लागेको अवसरमा नेकपा (एमाले) ले हीरक महोत्सव समारोहको आयोजना गरेको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा  साेमबार आयोजित हीरक महोत्सव समारोहलाई सम्वोधन गर्दै तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा र सम्वर्द्धन गर्दै विकास र समृद्धिको यात्रामा सहमतिका साथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

समारोहमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान प्रदान गरियो ।

समारोहलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स‌ङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणका लागि सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

वर्तमान सरकार र सत्तारुढ दलहरू मुलुकबाट गरीबी हटाउने गरी ठोस योजना बनाउने काममा लाग्नुपर्ने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले २१औं शताब्दीमा, प्रगतिशील र लोकतान्त्रिक सरकारहरू रहेको अवस्थामा पनि गरिबी र भोकमरीका समस्या रहनु अशोभनीय हुने हुँदा त्यसको अन्त्यका लागि काम गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीका ७५ बर्ष उथलपुथलले भरिएका बर्ष भएको र यी बर्ष घटनाक्रम र परिवर्तनका लागि अगुवाइ गरिएका बर्षहरू भएको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीकै कारण राणा शासन र निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भएको, राजतन्त्र समाप्त भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो- यस अवधिमा हामीले जनताको सर्वोच्चता कायम गरेका छौं, यो गर्वको विषय हो । राष्ट्रपति जनताको सर्वोच्चताको प्रतिक भएको उहाँले बताउनुभयो ।

यस उपलब्धिसँगै कम्युनिष्ट आन्दोलनले पटक पटक विभाजनको पीडा पनि भोग्नुपरेको अध्यक्ष ओलीले स्मरण गर्नुभयो । अहिले पनि एमालेमा कसरी मतभेद र विवाद सिर्जना गर्न सकिन्छ भनेर प्रयास हुने गरे पनि एमाले एकताबद्ध र एकढिक्का रहेको उल्लेख गर्दै त्यस्ता प्रयासप्रति सतर्क भने रहनुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो- नेकपा (एमाले) आज एकताबद्ध, एकढिक्का छ र एकताबद्ध रहने छ । एमालेले आफ्नो काँधमा रहेको अभिभारा बुझेको छ । समृद्ध नेपाल सुखी नेपाली बनाउने अभिभारा बुझेको छ। उहाँले त्यो अभिभारा पुरा गर्ने काम एमालेले एक्लै नभई देशभक्त तथा परिवर्तनका पक्षधर अन्य व्यक्ति र शक्तिहरूलाई पनि साथै लिएर गर्ने स्पष्ट गर्नुभयो । एमालेले पदको नभई विचारको अगुवाइ गर्ने भनाइ अध्यक्ष ओलीले राख्नुभयो । उहाँले कम्युनिष्ट पार्टी स्थापनाको एकसयबर्ष पुग्दा अर्थात अबको पच्चीस बर्षमा समृद्धि नेपाल सुखी नेपालीको गन्तव्यमा पुग्ने गरी काम गरिने छ भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0