तीन नगरपालिकालाई समेटेर भेरी किनारमा बन्न थालेको आधुनिक नमुना सहरको काम तीव्र गतिमा अघि बढेको छ । भेरीगंगा, गुर्भाकोट र लेकबेंसी नगरपालिकामा बन्न थालेको भेरीगंगा उपत्यका नमुना आधुनिक सहर निर्माण हुन लागेको हो । यसले नदी वारि र पारिको ४ सय ६० वर्ग किलोमिटर क्षेत्रलाई समेट्नेछ ।
भेरी नदी किनारस्थित सुर्खेतको राकमबजार र सल्यानको देवस्थल । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

भेरी किनारमा धार्मिक, सांस्कृतिक, जल पर्यटन, शिक्षा, स्वास्थ र रोजगारीको केन्द्र बनाउन नयाँ सहर योजनाको काम अघि बढाइएको छ । नयाँ सहर आयोजनाअन्तर्गत अहिले गुर्भाकोट नगरपालिकाको खटाङमा तीनमुखे झोलुंगे पुल, पुलको बीच भागमा भ्यु टावर निर्माण हुनेछ । त्यस्तै, खटाङको टापुबाट तीनतिर बस्ती बसाल्ने वातावरण हुने गरी काम निर्माण हुने सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बताए ।

प्रतिनिधिसभाका सदस्य तथा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सचिव आचार्यसहितको प्राविधिक टोलीले निर्माधीन स्थलको निरीक्षण गर्दै उक्त क्षेत्रमा धमाधम काम गर्न निर्देशन दिएको छ । हिमाली र पहाडी क्षेत्रको बसाइँसराइलाई भेरीमा किनारमै रोक्न पनि यो आयोजनालाई तीव्रता दिइएको सचिव आचार्यले बताए । यो कर्णाली प्रदेशको प्रवेशद्वार र तीनवटा राजमार्गको संगमस्थल हो । रत्न राममार्ग, मदन भण्डारी राजमार्ग र छिन्चु–जाजरकोट–डोल्पा सडक खण्डले यो ठाउँलाई छोएको छ । यस्तै, भेरीगंगा नगरपालिकाको चिप्लेमा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका कारण पनि बस्ती विस्तार हुँदै छ । डाइर्भसनबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण भइरहेको ड्यामले चिप्लेदेखि खटाङ टापुसम्म मानवनिर्मित समुद्र बन्नेछ । जसले बस्ती विकाससँगै जल पर्यटनका लागि पनि भेरी उपत्यका नमुना बन्ने सचिव आचार्यले बताए । उनका अनुसार आयोजनामा झन्डै २२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

नयाँ सहरमा सडक, हाटबजार, जंगल क्षेत्र, सिटी हल, बसपार्कलगायतका संरचना बनिरहेको सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख अम्मर थापाले बताए । उनका अनुसार मेहेलकुनामा ५० बेडको अस्पताल निर्माणको काम अन्तिम चरणमा छ । भेडाबारीदेखि रामघाटसम्म करिब १५ किलोमिटर दूरीमा ७ वटा पक्की पुल निर्माण हुँदै छन् । उनका अनुसार छिन्चु–जाजरकोट सडकखण्डको छिन्चुदेखि सिमघाटसम्म फोरलेन सडकको कामले पनि गति लिइरहेको छ । जहाँ १३ करोड ५० लाख रुपैयाँमा सडक कालोपत्र हुनेछ ।

रुकुमको चौरजहारी नगरपालिकामा बन्दै गरेको नयाँ सहर आयोजनामा पनि हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षमा ३५ करोड बजेट विनियोजित भएको उक्त आयोजनामा घारीगाउँ र टाटागाउँको ११ सय रोपनी जग्गा विकसित घडेरी बनेर फिर्ता हुने क्रममा छ ।

आयोजना प्रमुख सुशील आचार्यले १० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको बताए । अहिले एकीकृत सेवा भवन, ८ सामुदायिक भवन, ५० किमि ग्रामीण सडकको स्तरोन्नति, फोहोर मैला प्रसोधन केन्द्र, हरित पार्क र आधुनिक बसपार्कको काम भइरहेको छ । २०७२ यता आयोजनामा ९२ करोड ५७ लाख रुपैयाँ खर्च भइसकेको छ ।

दैलेखस्थित आठबीस नगरपालिकाको राकममा पनि नयाँ सहरको काम जारी छ । राकममा १ सय ३८.८ रोपनी जमिनमा नक्सांकन गरेर आयोजनाको काम भइरहेको छ । यो वर्ष सडक, खानेपानी, भवन र पार्क निर्माणका झन्डै दुई दर्जन ठेक्का खोलेर सुरु गरिएको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाले मनोरञ्जन पार्क, आसपासको क्षेत्रमा तटबन्ध, खानेपानी, कवर्डहल, खेलमैदान, सामुदायिक भवन, चिहानघाट, फोहोर व्यवस्थापन केन्द्रलगायतका संरचना बनाइसकेको छ । आयोजनामा दुई वर्षयता २६ करोड रुपैयाँ खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0