मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै सुरु भएको शक्तिराष्ट्रहरूको दौडधुप सरकार गठन हुँदै राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा थप तीव्र बनेको छ ।

विशेष गरी अमेरिका र युरोपियन युनियनका विभिन्न मुलुकबाट एकपछि अर्को उच्चस्तरीय भ्रमणहरू भए भने छिमेकी मुलुक भारतबाट नेपालका लागि पूर्वराजदूत समेत रहिसकेका विदेश सचिव विनयमोहन क्वात्राले दुईदिने म्याराथुन भ्रमण सम्पन्न गरे ।

अर्को छिमेकी मुलुक चीनबाट प्रत्यक्ष रूपमा उच्चस्तरीय भ्रमण नभए पनि नेपालका लागि नवनियुक्त राजदूत छेन् सोङ्ग एकपछि अर्को दौडमा उसै गरी सहभागी भइरहेका छन् । यसअघिकी राजदूत होउ यान्छीले २०७४ सालको आमनिर्वाचनपछि कम्युनिस्ट पार्टीहरूको एकता र सरकार निर्माणका लागि दौडधुप गरेकी थिइन् ।

त्यस्तै सरकार गठन भएको केही दिनमा नै चीनले रेलमार्ग अध्ययनका लागि भनेर विज्ञहरूको टोली काठमाडौंमा उतार्‍यो, जुन पूर्वनिर्धारित भनिएको छ । अहिले काठमाडौंमा भारतीय र चिनियाँ राजदूतको नेताहरुसँग भेटघाट उस्तै बाक्लो बनिरहेको छ ।

विभिन्न राजनीतिक र कूटनीतिक स्रोतहरूका अनुसार पछिल्लो समय भएका अधिकांश भ्रमण र भेटको अन्तर्यमा २५ फागुनका लागि तय भएको राष्ट्रपति निर्वाचन केन्द्रमा छ । ‘औपचारिक भ्रमणमा के भएको छ भन्ने भेट्नेहरूलाई नै थाहा हुन्छ । यस्ता भेटघाटमा कसको के चासो हुन्छ भन्ने सबैलाई थाहा भएको कुरा हो नि’ एक शीर्ष नेताले अनलाइनखबरसँग भने, ‘यहाँको राजनीतिक माहोल जे हुन्छ, त्यसमा उनीहरूको चासो हुन्छ । अहिले पनि छ ।’

सम्पन्न भएका भ्रमणहरू कतिपय पूर्वनिर्धारित छन् भने कतिपय तत्कालीन राजनीतिक घटनाक्रमले निर्धारण भएका देखिन्छन् । त्यस्तै, काठमाडौंमा रहेका कूटनीतिज्ञका भेटघाट पनि कतिपय अनौपचारिक थिए भने, कतिपय औपचारिक शिष्टाचारका लागि समेत भएका थिए । तर ती भेट र भ्रमणका क्रममा भएका छलफल र सार्वजनिक सूचनाहरूका आधारमा उनीहरूको चासो के विषयमा थियो र छ भन्ने स्पष्ट हुन्छ ।

नेकपा एमालेका नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराई औपचारिक भेटवार्ताहरूमा भन्दा पनि अनौपचारिक हिसाबले विकसित राजनीतिक घटनाक्रमका विषयमा उनीहरूले चासो राख्ने बताउँछन् । ‘यो वा त्यो व्यक्तिलाई बनाउनुपर्छ भनेर सीधै औपचारिक प्रस्ताव गरेको वा कुराकानी भएको मलाई जानकारी छैन । तर अनौपचारिक संवादमा सबैले विकसित राजनीतिक घटनाक्रममाथि चासो राखि नै रहेका हुन्छन्’, एमाले नेता भट्टराई भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0