२०८० फागुन २३, बुधबार

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएपछि केही दलले सरकारमा सहभागी हुनेबारेमा निर्णय गर्न नसकेर आन्तरिक छलफलमा छन् ।

नेपाली कांग्रेससहितको गठबन्धन तोडेर प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)सहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाएका छन् । यी दलका बीचमा आठबुँदे सहमति गर्दै नयाँ गठबन्धन बनेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठक मन्त्रालयको भागबन्डा सरकारमा सहभागी हुने राजनीतिक दलको टुंगो लागेसँगै टुंग्याउने छलफल गर्दै सकिएको छ । सरकारमा सहभागी हुने राजनीतिक दलको टुंगो नलागेका मन्त्रालयको भागबन्डा पनि लाग्न नसकेको बालुवाटार स्रोतले जनाएको छ ।

आठबुँदे सहमतिमा हस्ताक्षर गरेकै दल जसपाले प्रधानमन्त्री प्रचण्डले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा मन्त्रीको नाम दिएन । जसपाले मन्त्रीको नाम नदिएपछि प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डीपी अर्याललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । मन्त्रालयको भागबन्डा नटुंगिएकाले प्रधानमन्त्री प्रचण्डले तीनै जना मन्त्रीलाई विनाविभागीय राखेका छन् ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका नेता राजेन्द्र गौतमले सरकारमा सहभागी हुने दलको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तारसँगै सरकारको नीति तथा कार्यक्रमसमेत आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0