२०८० फागुन ३, बिहीबार

साैराहा, चितवन । बुधबार दिउँसोसम्म सौराहाको मुख्य बजारस्थलमा रहेको जङ्गल सफारी लजमा पाँचवटा कोठा मात्र बुकिङ भएका थिए। होटलका सञ्चालक सुमन घिमिरेका अनुसार ३२ वटा कोठा रहेको सो होटलमा साँझसम्म केही पर्यटक थपिए पनि आशालाग्दो अवस्था भने थिएन।

विगतका वर्षमा जस्तो प्रणय दिवस मनाउन पर्यटकीय नगरी सौराहा आउने पर्यटक अहिले छैनन् । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष घिमिरेले भन्नुभयो “प्रणय दिवसमा पनि आशालाग्दो अवस्था देखिएन । यहाँ जारी खाना महोत्सबमा दिउँसो चहलपहल भए पनि बासबस्ने पर्यटक कम छन् ।” नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द भइ काम भइरहेको छ । मुग्लिनदेखि काठमाडौँसम्म काम भइरहेकाले अस्तव्यस्त नै छ । त्यस्तै मुग्लिन पोखरा र नारायणगढ–बुटवल सडकको अवस्था पनि उस्तै छ । सडकको अवस्था र आर्थिक मन्दिका कारण पर्यटक नआएको घिमिरेको भनाइ छ । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराई सौराहामा गरिएको मेला महोत्सबको प्रभाव होटलहरुमा पर्न नसकेको बताउनुहुन्छ । प्रणय दिवसमा निकै कम पर्यटक सौराहा आएको उहाँको भनाइ छ ।

मध्यान्हसम्म ३० प्रतिशत हाराहारी मात्र होटलमा पर्यटक आएको भन्दै उहाँले दश प्रतिशत थप हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “गत वर्षमा प्रणय दिवसमा लगभग होटल भरिन्थे । यो वर्ष रौनक नै छैन ।” सौराहामा अहिले भइरहेको खाना महोत्सव, केही दिन अघि सकिएको फिल्म महोत्सव र हात्ती महोत्सवको प्रभाव होटलको मा नपरेको उहाँ बताउनुहुन्छ । उहाँले थप्नुभयो “मेला महोत्सब खासै सफल हुन सकेनन् ।” मेला महोत्सबको आवश्यक मात्रामा प्रचारप्रसार हुन नसक्दा सोचे जस्तो उपयोगी नभएको उहाँको ठम्याइ छ । क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया मध्यान्हसम्म खासै पर्यटक आइनसकेको बताउँदै साँझसम्ममा आउने अपेक्षा गर्नुहुन्छ । उहाँले भन्नुभयो “गत वर्षमा यतिबेलासम्म कोठा सकेर अरु होटलमा खोज्न थाल्थे । अहिले त्यस्तो अवस्था छैन ।” यद्यपि आफूहरु आशावादी रहेको उहाँले बताउनुभयो  ।

सडकको अवस्था राम्रो नभएको र आर्थिक मन्दिनै पर्यटक नआउनुको कारण भएको उहाँले बताउनुभयो । सौराहामा पाँच हजार पाँच सयजना पर्यटकलाई एकै पटक राख्न सक्ने क्षमता छ । यहाँ एक सय २० वटा होटल र करिब एक सय वटा रेष्टुराँ सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0