प्रिया!!! श्रद्धाञ्जली अर्पण!
कस्तो हर्ष थियो उड्यो सुतिगयो हाँसो टुट्यो जीवन
कस्तो वर्ष रह्यो बित्यो डुबिगयो यो आँसुमा जीवन
कस्तो काल बन्यो मुनाल पुतली झम्टी ठुँग्यो अर्चना
तिम्रो वार्षिक पुण्य यो तिथि प्रिया श्रद्धाञ्जली अर्पण
(१)
तिम्रा दुःख र सुक्ख मान ममता झल्को सधैँ आउँछन्
तिम्रा खान र पान उच्च क्षमता सङ्लो हुँदै धाउँछन्
तिम्रो उच्च विचार शान्त सुकिलो सादा अहा! जीवन
तिम्रो वार्षिक पुण्य यो तिथि प्रिया श्रद्धाञ्जली अर्पण
(२)
बन्छन् झन् घटना अतीत दिनका ताजा भए सज्जन
पाखामा वनमा खुला सडकमा हाँस्दै हिँडेका दिन
आँखामा मनमा थियौ हृदयमा नाच्दै कुदेका क्षण
तिम्रो वार्षिक पुण्य यो तिथि प्रिया श्रद्धाञ्जली अर्पण
(३)
बोली ती रसिला अदम्य दृढता क्या साहसी आँटकी
चोली ती गमिला सुरम्य फरिया आदर्श थ्यौ फाँटकी
देख्दा यी घरका निसान परका छौ साथमा झल्कना
तिम्रो वार्षिक पुण्य यो तिथि प्रिया श्रद्धाञ्जली अर्पण
(४)
कैले हाँस्छु फकाउँदा नि सपनी देख्दै छु यो काखमा
कैले रुन्छु झकाउँदा नि विपनी झस्कन्छु त्यो रातमा
कैले सुत्छु र उठ्छु दुख्छ मन यो हातै समाईकन
तिम्रो वार्षिक पुण्य यो तिथि प्रिया श्रद्धाञ्जली अर्पण
(५)
जोजो छन् घरमा र गाउँ परमा खोज्छन् अहो!माइती
जोजो छन् स्कुल शिष्यशिक्षक सबै सोध्दै गरे साउती
खै के भो जमुना हिमाल गहको पग्लन्छ क्या झन्झन
तिम्रो वार्षिक पुण्य यो तिथि प्रिया श्रद्धाञ्जली अर्पण
(६)
मायामा ममता दया र पिरमा झन् शोकमा मावल
भो त्यो दु:ख नमान कर्म गर लौ होस् साहस ज्यावल
भन्छन् जीवन यो समेल नरुनू छोरी सँगै छन् सज्जन
तिम्रो वार्षिक पुण्य यो तिथि प्रिया श्रद्धाञ्जली अर्पण
(७)
सच्चा मानिस लौ छ बाँच्नु कसरी हल्लन्छ यो आसन
कच्चा मानिसको छ सान जसरी उल्टो छ यो शासन
तिम्रो सभ्य र स्निग्ध वेग छवि त्यो देखेर ईर्ष्या किन
तिम्रो वार्षिक पुण्य यो तिथि प्रिया श्रद्धाञ्जली अर्पण
(८)
साँचो सत्य ल हार्छ त्यो जगतमा साँच्चै झुटो जित्दछ
खोक्रा छन् जब हेर नित्य जगमा विश्वास खिस्याउँछ
लौ आदर्श यथार्थ हुन्छ र कहाँ आडम्बरी चिन्तन
तिम्रो वार्षिक पुण्य यो तिथि प्रिया श्रद्धाञ्जली अर्पण
(९)
सम्झी बस्छु बुझी कडा विवशता भोग्दा महा कष्ट छ
आधी बाँच्छु सधैँ बडा विरहमा दुर्भाग्य यो प्रस्ट छ
जे जे भो भइ गो भने नि नहुने छाडी गयौ सम्झना
तिम्रो वार्षिक पुण्य यो तिथि प्रिया श्रद्धाञ्जली अर्पण
(१०)
रचना : कवि / लेखक -मुरलीघर घिमिरे  , प्राध्यापक विरेन्द्र बहुमुखी क्याम्पस , भरतपुर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0