कविता:-” प्यारी बिनाको घर”
छन्द :- शार्दूलबिक्रीडित
—————————————-
        ” प्यारी बिनाको घर”
       ——————-
नानी बाबु निदाउरो तवरले ,आमा भनी खोज्दछन्
खै आमा घरमा अबोध बिचरा,अन्जान भै सोध्दछन्
के भन्दै समझाउ आज तिनको , धेरै छ पीडा तर
बिष्फोटन् पछिको उहीँ शहर भो,प्यारी बिनाको घर ।
               गाई हेर्नु कि घाँसपात वनमा , हेरौ म भान्सा अब
               एक्लै बस्छ र हेर्छ जून तिर पो, बोल्दैन कान्छा जब
               छोरी सुत्छु म खान्न भात भनि लौ , रोएर बस्छे पर
               भाँच्चे झै हुनगो यि हात पनि खै, प्यारी बिनाको घर ।
बग्रेल्ती घरमा कसिङ्गर जतै , छैनन् सफा द्वार नि
को रोयो, कुन हाँस्छ खै सफरमा, सुन्सान संसार नि
तिम्रा ती प्रतिबिम्ब लौ झलझली देखिन्छ आँखै वर
हे द्यौता किन हुन्छ हो छटपटी , प्यारी बिनाको घर ।
              मेरो जीवन अन्धकार सरि भो ,बाटो हरायो सब
              कस्तो भाग्य रहेछ दैव किन हो ,एक्लै गरायो अब
              हुर्काऊँ कसरी अबोध चिचिला ,कस्को म पर्ने भर
              कष्टै कष्ट उराठिलो बगर भो , प्यारी बिनाको घर ।
ढोका थुन्छु थुनेर सुत्छु नि अहो,निन्द्रा कहाँ लाग्छ र
तिम्रो याद भयो अलौकिक नशा,बिर्सौ कहाँ मान्छ र
कस्तो खेल रचेर दैव हरिले , हान्यो मलाई शर
लाग्ने गर्छ सती विहीन शिव झैँ, प्यारी बिनाको घर ।
रामलाल कुमाल ,कालिका ७ चितवन।
(श्रष्टा कुमाल`राष्ट्रिय जनसाहित्य सँघ ´का केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0