२०८० चैत्र ५, साेमबार सुन प्रकरण लगाएतका विषयमा अनुसन्धान गर्न रुपन्देहीबाट  समातिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले अस्पतालमै बस्ने सुबिधा पाएका छन् ।

महराले आफूले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठीक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको अदालतमा बताएका थिए । सोहीअनुसार अदालतले आवश्यकताअनुसार अस्पतालमा बस्न दिन प्रहरीलाई आदेश दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले जनाएको छ।

अदालतको आदेशअनुसार महराले केन्द्रीय अनुसन्धान ब्युरोका हिरासतमा नबसेर नर्भिक अस्पतालमा बस्ने तयारी गरेका छन् । प्रतिनिधिसभाको पूर्वसभामुख समेत रहेका महरा सुन तस्करी प्रकरणमा मुछिएपछि सोमबार रुपन्देहीबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराएकामा उनीमाथि अनुसन्धान गर्न सीआईबीले ४ दिनको म्याद दिएको छ ।

महराले आफूमा मस्तिष्कसम्बन्धी, घाँटीको क्यान्सर, प्रोस्टेटसम्बन्धी समस्या रहेको भन्दै सोहीअनुसार आठ प्रकारको औषधि खाने गरेको न्यायाधीश दुर्गा प्रसाद खनालको इजलासमा बताएका थिए ।

सोहीअनुसार अदालतले अस्पतालमा उपचार गराउन आदेश दिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले काठमाडौँ ल्याइएसँगै महरामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

 आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

 महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0