२०८०माघ २३, मङ्गलबार

चितवन । श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी चितवनले विद्यार्थीहरुलाई झोलासहितको शैक्षिक सामाग्री वितरण गर्नुकाे साथै व्यबहारीक ज्ञान र सीप समेत बाँडेकाे छ ।

 

महानगरपालिका वडा नं. २८ मा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय अन्द्रौलीका ७७ जना बालबालिकाहरुलाई झोला, कापी, पेन्सिल, इरेजर, कटर, हात धुने सावुन, डेन्टल किट्सहरु वितरण गर्नुकाे साथै स्वस्थ्यकर्मी द्वारा व्यक्तिगत सरसफाइका ज्ञान समेत दिईएकाे थियाे ।

चौतारी चितवनका अध्यक्ष सुवास पण्डितका अनुसार महानगरको केन्द्रबाट टाढा रहेको आर्थिक कमजाेर समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयको छनौट गरी उनीहरुलाई शैक्षिक सामाग्रीका साथैं स्वास्थ्य सम्वन्धी चेतना जगाउने कार्यक्रम समेत गरिएको हाे ।

भरतपुर स्थित नेशनल सिटी अस्पतालका स्वास्थ्यकर्मीहरुले बालबालिकाहरुलाई ब्यक्तिगत सरसफाई, ओरल हेल्थ लगायतका विषयमा प्रस्तुतीकरणसहित सचेतना शिक्षा दिएका थिए । सिटी अस्पतालका कार्यकारी निर्देशक विक्रम अधिकारीले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा यस्ता कार्यक्रम गरिनु अति आवश्यक रहेको र चौतारीको स्थापना दिवसका दिनमा अस्पतालले सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयाे।

यस्तै, भरतपुरमा रहेको पपुलर यूनिसेक्स सैंलुनका सञ्चालक सुलभ सिग्देलसहितको टोलीले विद्यालयमा पढ्ने छात्रहरुलाई कपाल काट्नुभएकाे थिए । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रेस चौतारीले आफ्नाे स्थापना दिवसकाे अवसरमा विद्यालयमा पढ्ने बालबालिकाहरुलाई सम्झेर शैक्षिक सामाग्रीहरु प्रदान गरेकोमा खुसी लागेको बताउनुभयाे ।

सिमान्तकृत समुदाय, दलित तथा विपन्न समुदायका बालबालिका पढ्ने विद्यालयको छनौट गरी भरतपुरको केन्द्रदेखि पर आएर सहयोग गर्ने चौतारीको प्रयास सराहनीय रहेको वहाँ काे भनाइ छ । कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले पत्रकारिता भन्दा फरक क्षेत्रमा फरक सोचका भविष्यका कर्णधार बालबालिकाहरुको शिक्षामा केही टेवा पुगोस् भन्ने उद्देश्यका साथ चौतारीले गरेको सहयोग सन्देशका हिसावले निकै महत्वपूर्ण रहेको बताउनुभयाे ।

राज्यले विद्यालय तहको शिक्षाका नि:शुल्क भने पनि ब्यवहारत यस्तो हुन नसकेको भन्दैं प्रचार विभाग प्रमुख ढुंगानाले सरकारी विद्यालयहरुको गुणस्तर सुधारमा समुदाय लाग्नुपर्ने बताउनुभयाे । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले मुलुकमा व्यावसायिक पत्रकारिताको जग हाल्ने कार्यमा प्रेस चौतारीले भूमिका खेलेको बताउनुभयाे। चौतारी चितवनले देशकै पहिलो भवन भरतपुरमा बनाउँदै गरेकोमा खुसी ब्यक्त गर्दै सबैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष अधिकारीले बताउनुभयाे ।

महासंघका पछिल्लो तीन बर्षे कार्यकालमा प्रेस चौतारी चितवन लगायतका संघसंगठनहरुले सहयोग गरेकोमा आफू खुसी रहेको बताउनुभयाे । चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले पत्रकारको काम समाचार लेख्ने भए पनि फरक ढंगको काममा प्रेस चौतारीले सधैं उभ्याउँदै आएको बताउँदै तीजमा देवघाटको सरकारी आश्रमका वृद्धवृद्धालाई दर खुवाउनेदेखि विद्यालय पढ्ने बालबालिकाहरुको शैक्षिक सामाग्री वितरणसम्म गर्ने कार्यमा जुटेको बताउनुभयाे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएकाे कार्यक्रम चौतारीका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत र सचिव ध्रुवराज खनालले सञ्चालन गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0