जेष्ठ ८चितवन।

पहिलेको चलन !

होला कसैमा अहिले अचम्म ।
यस्तै थियोे चालिस सालसम्म ।
हुन्थ्यो जहाँ बाहुनका समाज ।
धोती नफेर्दा अति शर्म लाज ।१।

धेरै थियो भेद अनेक मान्छे ।
बारी- गरामा कति भात भान्छे ।
पाक्थ्यो जहाँ भात समेत दाल ।
खान्थे दुनामा टपरी छ थाल ।२।

गर्थे असाध्यै महिमा बखान ।
पाए कतै मासु समेत खान ।
मिल्थ्यो जहाँ क्यै घिउ या अचार ।
त्यो नाम लिन्थे जन बारबार ।३।

सम्झेँ पुरानो घटना छ एक ।
हेलत्व साह्रै नहुँदा विवेक ।
कालो अँधेरो जब रात घर्क्यो ।
हान्दै छ माटो तब देह थर्क्यो ।४।

अर्को छ भिन्दै अझ सम्झनामा ।
जन्ती थियो पाँचसयौँ जनामा ।
बाजा-दमाई अझ बीस जोर ।
आश्चर्य लाग्दो सब चित्तचोर ।५।

जन्ती सबै होटल जान थाले ।
ल्याए अनेकौँ सुविधा निकाले ।
भिन्दै व्यवस्था सबतर्फ छाए ।
नौलो नयाँ रीत चले; चलाए ।६।

यस्तै थियो रीत विवाह खास ।
सम्झेँ म आफैँ यस चित्रबाट ।
थापेर खाना टपरी छ थाल ।
बग्थ्यो कठै झोल; सदैव ताल ।७।

मिल्थेन खाना कपडा नलाँदा ।
मागेर धोती तब भोज खाँदा ।
यस्तै थियो संस्कृति जान्नुपर्ने ।
संस्कार हाम्रा सब धान्नुपर्ने ।८।

छोडे पुराना अब त्यो समाज ।
बन्दै छ सारा इतिहास आज ।
चाहिन्न भान्से न त हुन्छ बेर ।
पार्टी भयो आज; हिजो भतेर ।९।

आए अनेकौँ सुविधा प्रशस्त ।
खाए रमाए अझ मोजमस्त ।
आयो पुरानो दिन फेरि याद ।
भोग्यौँ जहाँ जो ; अघिको समाज ।१०।
२०८०/२/७
होमनाथ घिमिरे , भरतपुर , चितवन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0