२०८३ भाद्र २६, शुक्रबार

@ कृष्ण खनाल
ओली बैठकबाट बाहिरिँदा बादलको ३९ पृष्ठे प्रतिवेदनमाथि बहस, एमालेको पुनर्गठन प्रक्रिया नै परीक्षामा, बैठकमा अध्यक्ष ओली नजाने, दुई प्रतिवेदन आमने सामने हुँदै…
श्रीखबर/काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। तर बैठक सुरु हुनुअघि नै कार्यदलभित्र कुन प्रतिवेदनलाई आधार मानेर पार्टीको आगामी बाटो तय गर्ने भन्ने प्रश्नले एमालेको आन्तरिक राजनीतिलाई तरंगित बनाएको छ। यसअघिको बैठकमा सहभागी पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा सहभागी नहुने भएका छन्।
एमाले केन्द्रीय सदस्य तथा ओलीको सचिवालय प्रमुख निरु पालले अध्यक्षको आज कार्यदल बैठकमा जाने कार्यक्रम नरहेको बताएकी छन्। तर अध्यक्षको अनुपस्थितिभन्दा पनि बैठकमा प्रस्तुत हुने दुई फरक प्रतिवेदन अहिले एमालेभित्रको बहसको मुख्य विषय बनेको छ।
महासचिव शंकर पोखरेलले कार्यदलका सदस्यसचिवका रूपमा प्रदेश तथा विभिन्न तहबाट प्राप्त सुझाव समेटेर तयार पारेको ६५ पृष्ठको प्रतिवेदन र कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले पुनः सम्पादन गरेर तयार पारेको भनिएको ३९ पृष्ठको प्रतिवेदन आज आमनेसामने हुँदैछन्।
यहीँबाट एमालेभित्रको मूल प्रश्न उठेको छ—पार्टीले निर्वाचनको वास्तविक समीक्षा गर्न खोजेको हो कि नेतृत्वमाथि उठेका प्रश्नलाई सम्पादन गरेर राजनीतिक रूपमा सहज बनाउन खोजेको हो ? प्रतिवेदनमा मतभेद, नेतृत्वमा प्रश्न यसअघि कार्यदलले सदस्यसचिवले प्रतिवेदन तयार गरी कार्यदलमै छलफल गरेपछि नेतृत्वसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको बताइएको थियो। तर महासचिव पोखरेलले तयार पारेको प्रतिवेदन कार्यदलमा पर्याप्त छलफलबिनै अध्यक्ष ओलीसमक्ष पुगेपछि विवाद उत्पन्न भएको थियो।
संकटको समयमा पार्टी नेतृत्वमाथि अनावश्यक आरोप लगाइएको भन्दै प्रतिवेदन सच्याउने जिम्मेवारी भदौ ४ गते बादललाई दिइएको बताइएको छ। उनलाई नेता प्रदीप ज्ञवालीले सहयोग गर्ने जिम्मेवारीसमेत दिइएको थियो। त्यसपछि पोखरेलको ६५ पृष्ठे प्रतिवेदन सम्पादन गरी बादलले ३९ पृष्ठमा सीमित गरेको विवरण सार्वजनिक भएको छ।
अब प्रश्न प्रतिवेदन कति पृष्ठको छ भन्ने होइन। त्यसमा उठाइएका प्रश्न कति बाँकी छन् र कति हटाइएका छन् भन्ने हो। एमालेका लागि यो सामान्य सम्पादन होइन एमाले नेपाली कम्युनिस्ट आन्दोलनको लामो इतिहास बोकेको प्रमुख राजनीतिक शक्ति हो। संगठन निर्माण, नेतृत्व क्षमता र राज्यसत्तामा निर्णायक भूमिका खेलेको एमालेले पछिल्ला निर्वाचन तथा राजनीतिक उतारचढावबाट गम्भीर पाठ सिक्नुपर्ने अवस्थामा पुगेको छ। त्यसैले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदन केवल पार्टीभित्रको प्रशासनिक दस्तावेज होइन।
यसले एमालेले आफ्ना कमजोरी स्वीकार गर्ने साहस गर्छ कि गर्दैन, नेतृत्वमाथि प्रश्न उठ्दा त्यसलाई सुन्न सक्छ कि सक्दैन र बदलिँदो मतदाता पुस्तासँग आफूलाई कसरी जोड्छ भन्ने संकेत दिनेछ। यदि समीक्षा प्रतिवेदनको उद्देश्य कमजोरी पहिचान गर्नु हो भने त्यसमा नेतृत्व, संगठन, उम्मेदवार छनोट, जनसम्बन्ध, राजनीतिक सन्देश र निर्वाचन रणनीतिसम्बन्धी असहज प्रश्न पनि आउनैपर्छ। तर असहज प्रश्न हटाएर प्रतिवेदनलाई सहज बनाइयो भने त्यसले तत्काल नेतृत्वलाई राहत दिन सक्छ, तर दीर्घकालमा पार्टीलाई होइन।
‘शंकरको प्रतिवेदन कि बादलको ?’ भन्दा ठूलो प्रश्न आज कार्यदलमा पोखरेल पक्षका सदस्यहरू पहिलेकै प्रतिवेदनलाई आधार बनाएर छलफल गर्नुपर्ने पक्षमा रहेको र बादल पक्षका सदस्यहरू संयोजकका हैसियतले पुनःसम्पादित प्रतिवेदनलाई आधार बनाउनुपर्ने पक्षमा रहेको बताइएको छ। यसले कार्यदलभित्रको मतभेदलाई सतहमै ल्याएको छ। तर एमालेका लागि वास्तविक चुनौती दुई प्रतिवेदनबीच कसले जित्छ भन्ने होइन। सत्यको सामना गर्ने कि राजनीतिक सुविधा रोज्ने भन्ने हो।
निर्वाचनमा पार्टीले कहाँ गल्ती गर्यो ? जनतासँगको सम्बन्ध किन कमजोर भयो ? नयाँ पुस्ताले एमालेप्रति अपेक्षित आकर्षण किन देखाएन ? संगठनभित्र निर्णय प्रक्रियाप्रति असन्तुष्टि छ कि छैन ? नेतृत्वको शैली र कार्यकर्ताको मनोविज्ञानबीच दूरी बढेको छ कि छैन ?—यी प्रश्नको इमानदार उत्तरबिना कुनै पनि पुनर्गठन पूर्ण हुन सक्दैन।
विगत जोगाउने कि भविष्य बनाउने ?
एमालेको शक्ति उसको इतिहासमा मात्र छैन, आफ्ना कमजोरी सच्याउने क्षमतामा पनि छ। पुरानो संगठन, अनुभवी नेतृत्व र बलियो जनाधार हुँदाहुँदै पनि बदलिँदो नेपाली समाज, नयाँ पुस्ताको राजनीतिक चेतना र वैकल्पिक शक्तिको उदयलाई बेवास्ता गर्ने हो भने विगतको गौरव भविष्यको ग्यारेन्टी बन्न सक्दैन। त्यसैले आजको कार्यदल बैठक एमालेका लागि अर्को एउटा बैठक मात्र होइन। यो आत्मसमीक्षाको विश्वसनीयता परीक्षण पनि हो।
दुई प्रतिवेदनमध्ये कुन पारित हुन्छ भन्ने तत्कालको राजनीतिक समाचार हुन सक्छ। तर त्यसले एमालेको भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने कुरा अझ महत्वपूर्ण हुनेछ। किनकि पार्टी पुनर्गठन कागज सम्पादन गरेर होइन, कमजोरी स्वीकार गरेर सुरु हुन्छ।
आज एमालेले आफूलाई मन पर्ने प्रतिवेदन रोज्ने हो कि आफ्नो राजनीतिक भविष्यका लागि आवश्यक सत्य रोज्ने हो—परीक्षा त्यहीँ छ।


