२०८३ भाद्र २१, आइतबार
@ ज्ञानेन्द्र पाेख्रेल,बर्दिया
श्रीखबर, बर्दिया। भोटेकोसी बाढी तथा पहिरोमा परी बेपत्ता भएका बर्दियाका नागरिकहरूको पहिचानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा डीएनए नमुना संकलन कार्य तीव्र पारिएको छ।
प्रहरीका अनुसार भदौ २१ गते आयोजना गरिएको नमुना संकलन शिविरमार्फत हालसम्म बेपत्ताका परिवारजनमध्ये ५५ जनाको डीएनए नमुना संकलन भइसकेको छ। भीषण बाढी र पहिरोमा परी बर्दियाका ७६ जना नागरिक अझै पनि बेपत्ता अवस्थामा रहेका छन्। पहिचान नभएका शवहरूसँग मिलान गर्नका लागि बेपत्ताका नजिकका नातेदारहरूको डीएनए संकलन गरिएको हो।
प्रहरीका अनुसार अब बाबुआमासहित पूर्ण रूपमा सम्पर्कविहीन भएका २ जना बालबालिका तथा बाँकी ४ जना बेपत्ताका हकमा उनीहरूका नजिकका नातेदारहरूसँग डीएनए नमुना संकलनका लागि सम्पर्क गर्ने प्रयास भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले बेपत्ता नागरिकका आफन्तहरूलाई यथाशीघ्र सम्पर्कमा आई नमुना परीक्षण प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ।


