२०८३ भाद्र २३, मँगलबार
जकार्ता । इन्डोनेसियाको कुख्यात अनाक क्राकाटाउ ज्वालामुखीमा शक्तिशाली विस्फोट भएपछि जनजीवन तथा हवाई यातायात प्रभावित भएको छ। जाभा र सुमात्रा द्वीपबीचको सुन्डा जलडमरूमध्यमा रहेको अनाक क्राकाटाउमा सेप्टेम्बर ४ को रातिदेखि सुरु भएको ज्वालामुखीय गतिविधि करिब २५ घण्टासम्म निरन्तर चलेको इन्डोनेसियाको ज्वालामुखी तथा भूगर्भीय विपद् न्यूनीकरण केन्द्र (PVMBG) ले जनाएको छ।
विस्फोटका क्रममा ठूलो मात्रामा ज्वालामुखीय खरानी, तातो पदार्थ र लावासहितको पदार्थ बाहिर निस्किएको थियो। विस्फोटबाट निस्किएको खरानीको बादल हावासँगै विभिन्न क्षेत्रमा फैलिँदा इन्डोनेसियाको हवाई सेवा गम्भीर रूपमा प्रभावित भएको छ। जकार्ताको प्रमुख सोएकार्नो–हत्ता अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थल अस्थायी रूपमा बन्द गर्नुपरेको थियो।
पछिल्लो विवरणअनुसार करिब २,९६१ उडान रद्द, डाइभर्ट वा ढिलाइ हुँदा ३ लाख ४१ हजारभन्दा बढी यात्रु प्रभावित भएका छन्। खरानीका कारण उडान सुरक्षामा जोखिम बढेपछि विमानस्थल बन्द गरिएको थियो। ज्वालामुखीय खरानी विमानको इन्जिनमा प्रवेश गर्दा गम्भीर जोखिम निम्त्याउन सक्ने भएकाले उडान मार्गसमेत परिवर्तन गरिएको अधिकारीहरूले बताएका छन्।
अझै पूर्ण रूपमा जोखिम टरेको छैन २५ घण्टाको निरन्तर विस्फोट रोकिए पनि अनाक क्राकाटाउको गतिविधि पूर्ण रूपमा शान्त भएको छैन। सेप्टेम्बर ८ मा समेत थप तीनवटा विस्फोट रेकर्ड गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
त्यसैले अधिकारीहरूले ज्वालामुखीको गतिविधि, खरानीको मात्रा र हावाको दिशालाई निरन्तर निगरानी गरिरहेका छन्। इन्डोनेसियाली अधिकारीहरूले ज्वालामुखीलाई ‘सियागा’ अर्थात् सतर्कताको तेस्रो तहमा राखेका छन्। ज्वालामुखीको क्रेटर वरपर कम्तीमा तीन किलोमिटर क्षेत्रबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।
सुनामीको हल्लाबारे के भनिएको छ?
सामाजिक सञ्जालमा विस्फोटसँगै ठूलो सुनामी आउने दाबीसमेत फैलिएको छ। तर हालसम्म त्यस्तो सुनामीको संकेत भने देखिएको छैन। इन्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी निकाय (BMKG) का अनुसार सुन्डा जलडमरूमध्य वरपरका समुद्री सतह मापन केन्द्रहरूले असामान्य समुद्री सतह परिवर्तन देखाएका छैनन्। अनाक क्राकाटाउ सन् १८८३ को विनाशकारी क्राकाटोआ विस्फोटपछि बनेको ज्वालामुखीय द्वीप हो।
सन् २०१८ मा यही क्षेत्रमा भएको ज्वालामुखीय गतिविधि र त्यसबाट आएको सुनामीले ४३० भन्दा बढी मानिसको ज्यान लिएको थियो। त्यसकारण अहिलेको गतिविधिलाई पनि इन्डोनेसियाली अधिकारीहरूले उच्च सतर्कताका साथ निगरानी गरिरहेका छन्। हाल जकार्तासहित केही विमानस्थल पुनः सञ्चालनमा आएका छन्
। तर नयाँ विस्फोट र खरानीको फैलावटको सम्भावना रहेकाले हवाई उडानमा पुनः असर पर्न सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्।




