२०८३ असाेज २, बिहीबार
@ विपिन पाठक
श्रीखबर/ भरतपुर-११ मा रहेको सिद्धि विनायक आमा समूहले सामाजिक उत्तरदायित्व वहन गर्दै महामारीको विषम परिस्थितिमा राहत तथा उद्धारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।
समूहको तर्फबाट ‘प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोष’ मा रु. ५५,१८५/- (पन्चपन्न हजार एक सय पचासी रुपैयाँ) रकम प्रदान गरिएको हो। कुल १३० जना सदस्यहरू आवद्ध रहेको यस आमा समूहले विपद्को यस कठिन घडीमा राज्यको राहत अभियानमा सघाउ पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरेको जनाएको छ।
समूहकी अध्यक्ष तीर्था अधिकारी र सचिव संगीता अधिकारीको विशेष नेतृत्व तथा पहलमा सम्पूर्ण सदस्यहरूबाट रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको हो। मानवीय सेवा र सामाजिक कार्यमा सदैव अग्रसर रहँदै आएको सिद्धि विनायक आमा समूहले यसअघि पनि स्थानीय स्तरमा विभिन्न सामाजिक तथा रचनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
महामारीको समयमा सानै भए पनि यो सहयोगले प्रभावित नागरिकसम्म राहत पुर्याउन ठूलो मद्दत पुग्ने विश्वास अध्यक्ष तीर्था अधिकारीले व्यक्त गर्नुभएको छ।
त्यस्तै सचिव संगीता अधिकारीले विपद्को समयमा एक-अर्कालाई सहयोग गर्नु नै आमा समूहको मुख्य ध्येय रहेको बताउनुभयो।


