२०८३ भाद्र ३०, मँगलबार
`साहित्यिक यात्रामा प्रज्ञाप्रतिष्ठानका सदस्य सचिवसम्मकाे जिम्मेवारीकाे अनुभवी सनत रेग्मी साहित्यकारका साथै स्थापित समाजसेवी हुनहुन्छ´
@ कृष्ण खनाल
श्रीखबर/ नेपालगन्ज । नेपाली कथा साहित्यमा लामो समयदेखि विशिष्ट पहिचान बनाउन सफल वरिष्ठ साहित्यकार तथा समाजसेवी सनत रेग्मीको व्यक्तित्व र कृतित्वमा केन्द्रित ‘सनत रेग्मी शब्दाभिनन्दन’ कृति आगामी असोज ६ गते नेपालगन्जमा विमोचन हुने भएको छ।
नेपालगन्जलाई आफ्नो प्रमुख कर्मभूमि बनाउँदै नेपाली साहित्य, सामाजिक सेवा तथा विभिन्न सामाजिक संस्थामार्फत सक्रिय रहँदै आएका रेग्मीको सम्मानमा तयार गरिएको उक्त कृति उनको दीर्घ साहित्यिक यात्रा, व्यक्तित्व र योगदानको दस्तावेजका रूपमा रहने बताइएको छ।
२००४ साल असोज ६ गते नेपालगन्ज–७ गगनगञ्जमा जन्मिएका रेग्मी नेपाली कथा साहित्यका स्थापित स्रष्टा हुनुहुन्छ। भारतको गुरुकुल वैद्यनाथ धामबाट आई.ए. तथा साहित्यरत्नसम्मको अध्ययन गरेका उनले प्रारम्भिक चरणमा हिन्दी भाषामा समेत लेखन गरे।
वहाँको पहिलो कथा ‘समाजकी बेटी’ प्रकाशित भएपछि नेपाली कथा लेखनतर्फ उनको यात्रा अघि बढेको देखिन्छ। कथाकार भीमनिधि तिवारीसँगको भेट र प्रेरणाले उनको नेपाली कथा लेखनलाई थप दिशानिर्देश गरेको साहित्यिक अभिलेखहरूमा उल्लेख छ। रेग्मीको साहित्यिक यात्रा सात दशकभन्दा लामो छ। ‘मातृत्वको चित्कार’, ‘दिनान्त’, ‘बन्द कोठाहरूको सहर’, ‘लछमनियाको गौना’, ‘समय सत्य’, ‘सनत रेग्मीका प्रतिनिधि कथा’ तथा ‘स्मृति दंश र अन्य कथा’ लगायतका कृतिमार्फत उनले नेपाली कथा साहित्यमा आफ्नो विशिष्ट स्थान बनाएका छन्।
वहाँको कथामा विशेषतः पश्चिम तराईको सामाजिक परिवेश, जनजीवन, मानवीय सम्बन्ध र समयका विविध अन्तरविरोधहरू अभिव्यक्त हुने गरेका छन्। ‘लछमनियाको गौना’ उनका चर्चित कृतिमध्ये एक हो। यद्यपि स्वयं रेग्मीले आफूलाई एउटै कृतिको लेखकका रूपमा मात्र सीमित गरेर बुझ्नु उचित नहुने धारणा व्यक्त गर्दै आएका छन्।
वहाँको समग्र कथा लेखन नेपाली कथा साहित्यको लामो विकासक्रमसँग जोडिएको छ। साहित्य सिर्जनासँगै रेग्मी साहित्यिक संस्था र अभियान निर्माणमा समेत सक्रिय रहे। रेग्मी महेन्द्र पुस्तकालयमा सचिवका रूपमा कार्यरत रहँदा नेपालगन्जको साहित्यिक गतिविधिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। वहाँकोअगुवाइमा नेपालगन्जमा वृहत् साहित्यिक सम्मेलनसमेत आयोजना भएको थियो। नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ हुँदै सदस्य–सचिव जस्तो जिम्मेवारीमा पुग्ने नेपालगन्जका अग्रणी साहित्यिक व्यक्तित्वका रूपमा पनि वहाँकोयोगदान स्मरणीय छ।
साहित्यसँगै सामाजिक सेवामा समेत सक्रिय रेग्मी नेपाल रेडक्रस सोसाइटीसँग आबद्ध रहेर मानवीय सेवाका क्षेत्रमा योगदान पुर्याउँदै आएका समाजसेवीका रूपमा परिचित छन्। साहित्य, सामाजिक सेवा र सार्वजनिक जीवनका विभिन्न आयाममा सक्रिय उनको व्यक्तित्वलाई बहुआयामिक मानिन्छ।
रेग्मीको ७५औँ जन्मोत्सवका अवसरमा २०७८ सालमा नेपालगन्जका विभिन्न साहित्यिक संस्थाले संयुक्त रूपमा वहाँकोसार्वजनिक अभिनन्दन गरेका थिए। त्यस अवसरमा उनका ७५ कथा समेटिएको ‘सनत–७५ : सनत रेग्मीका रोजा कथा’ कृतिसमेत विमोचन गरिएको थियो।
यसै साहित्यिक यात्राको अर्को महत्वपूर्ण कडीका रूपमा ‘सनत रेग्मी शब्दाभिनन्दन’ आउन लागेको हो। कृतिले रेग्मीको सिर्जनशीलता मात्र नभई नेपाली साहित्य, नेपालगन्जको साहित्यिक विकास, सामाजिक सेवा र सार्वजनिक जीवनमा उनले पुर्याएको योगदानलाई अभिलेख गर्ने अपेक्षा गरिएको छ।
असोज ६ गते नेपालगन्जमा हुने विमोचन कार्यक्रमले वरिष्ठ स्रष्टा सनत रेग्मीको दीर्घ साहित्यिक साधनालाई पुनः स्मरण र सम्मान गर्ने अवसरका रूपमा अर्थ राख्ने देखिन्छ।




