२०८३ भाद्र १९, शुक्रबार
ज्ञानेन्द्र पाेख्रेल, बर्दिया
श्रीखबर/बर्दिया — अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र स्वावलम्बी बनाउने उद्देश्यका साथ बर्दियामा बेत तथा बाँसका सामग्री निर्माण सम्बन्धी २१ दिने निःशुल्क तालिम सुरु भएको छ।
बर्दिया अपाङ्ग पुनस्थापना केन्द्रको आयोजना तथा आरआरएन (RRN) र डिजीएम (DGM) नेपालको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिम भाद्र १९ गतेदेखि असोज १३ गतेसम्म केन्द्रकै कार्यालयमा सञ्चालन हुनेछ।
तालिममा जिल्लाका विभिन्न चार स्थानीय तहहरू—गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकाका गरी कुल २० जना अपाङ्गता भएका महिला तथा पुरुषहरूको सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं बढैयाताल गाउँपालिका वडा नं. ७ का अध्यक्ष राधेश्याम थारूले अपाङ्गता भएका व्यक्तिहरूलाई सीप दिएर आत्मनिर्भर बनाउन लागिएकोमा खुसी व्यक्त गरे। “सीप जानेको व्यक्ति कहिल्यै भोकै बस्नु पर्दैन,” अध्यक्ष थारूले भने, “सबै सहभागीहरूले लगनशील र दत्तचित्त भएर सीप सिक्नुपर्छ र यसलाई व्यावहारिक जीवनमा उतारेर आर्थिक उपार्जनको माध्यम बनाउनुपर्छ।”
कार्यक्रममा बर्दिया अपाङ्ग पुनस्थापना केन्द्रका अध्यक्ष नेत्र प्रसाद सापकोटाले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा सम्मानजनक जीवनयापनका लागि सीपमूलक तालिमले ठूलो सहयोग पुर्याउने बताए।
बर्दिया अपाङ्ग पुनस्थापना केन्द्रका अध्यक्ष सापकोटाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा कोषाध्यक्ष चिन्तामणि कँडेलले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन महासचिव दल बहादुर सुनारले गरेका थिए।
कार्यक्रममा प्रशिक्षक वीर बहादुर खड्का, डेक नेपालका दशरथ थारू लगायत स्थानीय सञ्चारकर्मी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।


