
@ कृष्णप्रसाद खनाल
चितवन । नेपाल कम्युनिस्ट आन्दोलनको इतिहासमा लामो समय संगठन, संघर्ष र भूमिगत राजनीतिमा बिताएका पात्रहरू जब आफ्नै पार्टीभित्रको शक्ति–संघर्षको केन्द्रमा देखिन्छन्, त्यसलाई केवल एउटा व्यक्ति वा एउटा पदको विवादका रूपमा बुझ्नु पर्याप्त हुँदैन।
बागमती प्रदेशमा पछिल्ला घटनाक्रमले नेकपा एमालेभित्रको आन्तरिक व्यवस्थापन, गुटगत मनोविज्ञान र नेतृत्वप्रतिको विश्वासको गम्भीर प्रश्न उठाएको छ। बागमती प्रदेशका साँसद हरि सापकोटाको पछिल्लो अभिव्यक्तिलाई यही पृष्ठभूमिमा पढ्नुपर्ने देखिन्छ।
सापकोटाले सञ्जाल मार्फत २०३३ फागुनदेखि अर्डिनेशन केन्द्रमार्फत कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेको, २०३८ असोज ५ देखि भूमिगत र पूर्णकालीन भएर तत्कालीन नेकपा (माले)को जिम्मेवारी सम्हालेको, पूर्वी चितवनमा पाँच वर्ष पार्टी संगठन निर्माणमा सक्रिय रहेको, त्यसपछि पश्चिम चितवन हुँदै सेती–महाकाली पुगेको र त्यही क्रममा गिरफ्तारी, यातना तथा जेल जीवनसमेत भोगेको स्मरण गरेका छन्।
२०४८ को आमनिर्वाचनमा कञ्चनपुर–१ बाट उम्मेदवारीको अवसर पाए पनि व्यक्तिगत स्वार्थभन्दा पार्टी हितलाई प्राथमिकता दिँदै टिकट अस्वीकार गरेर दार्चुलामा निर्वाचन परिचालनमा गएको उनको दाबी छ।
यी प्रसङ्ग उनले `आत्मप्रशंसाका लागि अगाडि सारेका हुन् कि वर्तमान राजनीतिक निर्णयको नैतिक आधार देखाउन´—त्यो मूल्याङ्कन पाठकले गर्ने कुरा हो। तर एउटा कुरा स्पष्ट छ : उनले आफ्नो राजनीतिक जीवनलाई ‘नाफाको जीवन’का रूपमा चित्रित गर्दै अहिले आफूलाई पद, प्रतिष्ठा वा व्यक्तिगत लाभप्रति आशक्त नभएको सन्देश दिने प्रयास गरेकाे देखिन्छ । तर उनी यस्ताे प्रश्नले घेरिने स्थानमा पुग्दैगरेकाे माैजुदा परिदृश्य देखिदैछ
यसलाई कसैले बागमतीमा रोकिएको सत्ता–प्रक्रियालाई अगाडि बढाउने आवश्यक ‘आइसब्रेक’ भनेका छन्। सापकोटाको भनाइ पनि मूलतः यही तर्कतर्फ देखिन्छ—पुरानो गठबन्धन भत्किएपछि नयाँ सरकार गठनको प्रक्रिया लामो समय अवरुद्ध भएको अवस्थामा गत २७ साउनमा आफूहरूले प्रक्रिया अगाडि बढाउने वातावरण बनाएको उनको दाबी छ।
राजनीतिको बाहिरी तर्कभन्दा भित्री प्रश्न अझ पेचिलो छ।
`यदि यो केवल सत्ता–प्रक्रियालाई निकास दिने कदम हो भने नेतृत्व परिवर्तन नै किन?
यदि यो नेतृत्व परिवर्तनको स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो भने यति ठूलो असन्तुष्टि अचानक किन?
र यदि यो पार्टीको संस्थागत निर्णय हो भने कार्यकर्ताले यसलाई गुटगत शक्ति–प्रदर्शनका रूपमा किन बुझिरहेका छन्?´
यिनै प्रश्नले अहिले बागमतीमा एमालेको राजनीतिक तापक्रम बढाइरहेको छ।
# जेएन थपलियाको पक्षमा उठेको प्रश्न
जगन्नाथ (जेएन) थपलियामाथि अविश्वास प्रस्तावको राजनीतिक समयले पनि घटनालाई थप अर्थपूर्ण बनाएको छ। केही दिनअघि गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली र थपलियाबीच छलफल भएको र त्यसपछि थपलिया अस्वस्थ भएर अस्पताल भर्ना भएको प्रसङ्गले चर्चा पाइरहेका बेला, बुधबार अस्पतालबाट डिस्चार्ज भएको लगत्तै नेतृत्वविरुद्ध अविश्वास प्रस्ताव अघि बढ्नुले स्वाभाविक रूपमा अनेक प्रश्न जन्माएको छ।
यस घटनाको वास्तविक कारण, स्वास्थ्य अवस्थासँग यसको कुनै सम्बन्ध छ कि छैन, अथवा यी केवल संयोग हुन्—यसको निष्कर्ष प्रमाण र सम्बन्धित पक्षको आधिकारिक भनाइबिना निकाल्नु उचित हुँदैन।
तर राजनीतिमा समय पनि सन्देश हो।
घटना सही हो वा गलत भन्नेभन्दा पनि घटना कुन समयमा घट्यो र कार्यकर्ताले त्यसलाई कसरी बुझे भन्ने कुरा राजनीतिक प्रभावका दृष्टिले महत्त्वपूर्ण हुन्छ।
# सापकोटाको ‘जेएनप्रति सदासयता’माथिको प्रश्न
सापकोटाले आफ्नो लेखमा जेएनप्रति सदासयताको नाममा वातावरण धमिल्याउने काम नगर्न, सांसदहरूलाई जथाभावी आरोप नलगाउन र नेताहरूप्रति विश्वास गर्न आग्रह गरेका छन्।
यो आग्रह आफैंमा सकारात्मक छ।
तर राजनीतिमा ‘सदासयता’ र ‘शक्ति–सम्बन्ध’बीचको सीमारेखा सधैं स्पष्ट हुँदैन।
सापकोटामाथि कतिपयले मन्त्री बन्ने आकांक्षाका कारण जेएन थपलियाविरुद्ध सक्रिय भएको आरोप लगाएका छन्। अर्कोतर्फ, केहीले यो कदम व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि पार्टी अध्यक्ष केपी शर्मा ओलीको रणनीतिक निर्देशनमा भएको दाबी गर्छन्।
यी दुवै दाबीमध्ये कुन सत्य हो भन्ने प्रमाणित तथ्यबिना निष्कर्ष निकाल्नु हतार हुनेछ।
तर यसले एउटा गम्भीर राजनीतिक सत्य भने उजागर गर्छ—
जब एउटै निर्णयलाई कसैले ‘पार्टी हित’, कसैले ‘नेतृत्वको निर्देशन’ र कसैले ‘मन्त्री बन्ने आकांक्षा’ भनेर बुझ्छ, त्यहाँ समस्या केवल व्यक्तिमा हुँदैन; समस्या पार्टीभित्रको विश्वास प्रणालीमै हुन्छ।
# एमालेको घट्दो ‘कद’को प्रश्न
एमालेजस्तो लामो राजनीतिक इतिहास बोकेको पार्टीको शक्ति केवल निर्वाचनमा जितेको सिट संख्या होइन। उसको वास्तविक शक्ति संगठन, अनुशासन, वैचारिक स्पष्टता, आन्तरिक लोकतन्त्र र कार्यकर्ताको मनोबलमा निहित हुन्छ।
आजको प्रश्न यही हो—के एमालेभित्र यी आधारहरू मजबुत छन्?
नेतृत्व परिवर्तनका लागि सांसदहरू विभाजित हुने, एउटै पार्टीका नेताहरूबीच आरोप–प्रत्यारोप बढ्ने, हरेक निर्णयलाई गुटको चस्माबाट हेर्ने र कार्यकर्ताले नेतृत्वका निर्णयको उद्देश्यमा प्रश्न गर्नुपर्ने अवस्था सिर्जना हुनु स्वस्थ संगठनात्मक संकेत होइन।
पार्टीमा मतभेद हुनु अस्वाभाविक होइन। लोकतान्त्रिक पार्टीमा त मतभेद आवश्यक नै हुन्छ। तर मतभेदलाई संस्थागत बहसमा रूपान्तरण गर्न नसक्नु र त्यसलाई गुटीय शक्ति–संघर्षमा बदल्नु नै संगठनात्मक क्षयको सुरुवात हो।
एमालेको चुनौती अहिले विरोधी दलसँग मात्र छैन।
उसको एउटा ठूलो चुनौती आफ्नै संगठनभित्र बढिरहेको अविश्वास हो।
# कार्यकर्ता किन निराश हुँदैछन्?
तल्लो तहको कार्यकर्ता नेतृत्वका लागि वर्षौं खटिन्छ। चुनाव आउँदा झण्डा बोक्छ, संगठन विस्तार गर्छ, आलोचना सहन्छ र पार्टीको पक्षमा जनमत निर्माण गर्छ। तर जब माथिल्लो तहमा पद, जिम्मेवारी र शक्ति बाँडफाँटको विषय आउँछ, त्यहाँ सिद्धान्तभन्दा गुट निर्णायक देखिन थाल्यो भने कार्यकर्ताको मनोबल स्वाभाविक रूपमा खस्किन्छ।
यो प्रश्नको जवाफ एमालेले गम्भीरतापूर्वक खोज्नुपर्छ।
किनकि कार्यकर्ता निराश भएको पार्टी चुनावको दिन मात्र कमजोर हुँदैन; त्योभन्दा पहिले नै संगठनभित्रबाट कमजोर भइसकेको हुन्छ।यतिबेला एमालेले एकअर्कामाथि शंका गर्नेभन्दा तीनवटा काम तत्काल गर्नुपर्ने देखिन्छ।
एमालेका लागि अहिलेको सबैभन्दा ठूलो परीक्षा यही हो।


