२०८३ साउन २५, साेमबार
@ज्ञानेन्द्र पाेख्रेल, बर्दिया
“५० पूर्व प्रहरी संगठित, सदस्य हितका लागि ‘हितकोष’ सञ्चालन; सामाजिक सेवामा सक्रिय बन्न प्रहरी निरीक्षक गिरीको आग्रह´´
बर्दिया । अवकाशपछि पनि अनुशासन, एकता र सेवाको भावना कायमै राख्ने उद्देश्यसहित गठन भएको बढैयाताल गाउँपालिकास्तरीय पूर्व प्रहरी संगठनको पाँचौँ साधारण सभा सोमबार सम्पन्न भएको छ।
बढैयाताल गाउँपालिका–६ को सभाहलमा सम्पन्न साधारण सभाले पूर्व प्रहरी कर्मचारीहरूको एकतालाई थप मजबुत बनाउँदै सदस्यहरूको हित संरक्षण तथा सामाजिक सेवामा संगठनलाई सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
संगठनका अध्यक्ष दामोदर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक अच्युत गिरी प्रमुख अतिथि तथा बढैयाताल–६ का वडाध्यक्ष शुक्रराज सापकोटा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रहरी निरीक्षक गिरीले ब्यानर वाचन गरेर गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष सापकोटाले पूर्व प्रहरी कर्मचारीहरूलाई एउटै संगठनमा आबद्ध गराउँदै एकताको सूत्रमा बाँध्ने अभियान प्रशंसनीय रहेको बताउनुभयो। पूर्व प्रहरी संगठन सेवामूलक संस्था भएकाले सदस्यको हितसँगै समाजमा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।
त्यस्तै प्रमुख अतिथि प्रहरी निरीक्षक अच्युत गिरीले पूर्व प्रहरी कर्मचारीहरूको अनुभव, अनुशासन र सेवाभाव समाजका लागि महत्वपूर्ण सम्पत्ति भएको बताउँदै संगठनको गरिमा उच्च राख्न सबै सदस्य निस्वार्थ भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
संगठनले सञ्चालन गर्ने रचनात्मक तथा सामाजिक कार्यमा आफू र आफू मातहतको प्रहरी युनिटबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै गिरीले संगठनमा अझ धेरै पूर्व प्रहरी कर्मचारी आबद्ध हुन सके यसको प्रभावकारिता थप बढ्ने विश्वास व्यक्त गर्नुभयो।
© सदस्यको समस्यामा साथ दिने ‘हितकोष’
साधारण सभाको बन्दसत्रमा संगठनका अध्यक्ष दामोदर अधिकारीले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दुर्गादत्त पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।
सभामा संगठनले आफ्ना सदस्यहरूको हितलाई केन्द्रमा राखेर मासिक योगदानमा आधारित हितकोष सञ्चालन गरिरहेको जानकारी गराइएको थियो। सदस्यहरूलाई आर्थिक समस्या पर्दा सोही हितकोषबाट सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको संगठनले जनाएको छ।
संगठनका अनुसार यो व्यवस्था सदस्यहरूबीच आपसी सहयोग, सहकार्य र सामाजिक सुरक्षाको भावना विकास गर्ने उद्देश्यले अघि बढाइएको हो।
# २०७८ मा स्थापना, निरीक्षकदेखि जवानसम्म एउटै छातामुनि
बढैयाताल गाउँपालिकास्तरीय पूर्व प्रहरी संगठन २०७८ सालमा स्थापना भएको हो। स्थापनादेखि हालसम्म संगठनमा पूर्व प्रहरी निरीक्षकदेखि प्रहरी जवानसम्मका ५० जना पूर्व प्रहरी कर्मचारी आबद्ध भइसकेका छन्।
पूर्व प्रहरी कर्मचारीहरूको अनुभव र दक्षतालाई समाजको हितमा उपयोग गर्ने उद्देश्यले संगठनले आगामी दिनमा सामाजिक सेवा, जनचेतना तथा विभिन्न रचनात्मक गतिविधिलाई प्राथमिकतामा राख्ने जनाएको छ।
बर्दिया जिल्लामा जिल्ला तहको संगठनसँगै जिल्लाका सबै स्थानीय तहमा पूर्व प्रहरी संगठन निर्माण भइसकेको जानकारीसमेत साधारण सभामा गराइएको थियो।
कार्यक्रममा पूर्व प्रहरी संगठन बर्दियाका जिल्ला उपाध्यक्ष सुकदेव अधिकारी, जिल्ला कार्यसमितिका सह–सचिव डम्मर कार्की, सञ्चारकर्मी तथा पूर्व प्रहरी कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन संगठनका सचिव मोहन खत्रीले गर्नुभएको थियो।
`वर्दी फुकालेपछि सेवा सकिँदैन भन्ने उदाहरण बनेको पूर्व प्रहरी संगठनले अवकाशप्राप्त प्रहरी कर्मचारीहरूको अनुभव, अनुशासन र सेवाभावलाई सामाजिक उत्तरदायित्वसँग जोड्न सके संगठनको भूमिका अझ प्रभावकारी बन्ने देखिन्छ।´
Advertisement




