२०८३ असार ३२, बिहीबार
– कृष्ण खनाल
श्रीखबर/ जेनजी आन्दोलनका क्रममा भएको आगजनीले चितवन जिल्ला अदालतमा सुरक्षित राखिएका ३६ हजारभन्दा बढी मिसिल (फाइल) जलेर नष्ट भएका छन्। अदालतका अनुसार आगलागीबाट करिब ३५ हजार पुराना र १ हजार ३ सय नयाँ मिसिल पूर्ण रूपमा नष्ट भएका हुन्। यति ठूलो क्षतिका बाबजुद अदालतले न्याय सम्पादनको कामलाई निरन्तरता दिइरहेको जनाएको छ।
दयनीय भौतिक पूर्वाधार र सीमित स्रोत–साधनका बीच पनि अदालतका आठवटै इजलास (बेन्च) बाट नियमित रूपमा न्यायिक सेवा प्रवाह भइरहेको अदालतको भनाइ छ।
बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अदालतका स्रेस्तेदार तथा उपसचिव देवीराम भण्डारी ले आर्थिक वर्ष २०८२/०८३ मा अदालतले ६५ प्रतिशत प्रतिशत मुद्दा फैसला गर्ने लक्ष्य राखेको भए पनि करिब ५४ प्रतिशत मुद्दा सफलतापूर्वक किनारा लगाइएको जानकारी दिए।
कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै सूचना अधिकारी अमृत विश्वकर्मा ले अदालतमा अझै दुई वर्षभन्दा पुराना ६६ मुद्दा विभिन्न कारणले फैसला हुन बाँकी रहेको बताए। उनका अनुसार एक वर्षदेखि थन्किएका ३२४ मुद्दा, छ महिनाभन्दा पुराना ४५९ मुद्दा तथा छ महिनाभित्रका १ हजार ५५६ मुद्दा विचाराधीन अवस्थामा रहेका छन्।
उपसचिव भण्डारीले आगजनीबाट ध्वस्त भएका संरचनाको पुनःस्थापना र अभिलेख व्यवस्थापन चुनौतीपूर्ण भए पनि अदालतको कार्यसम्पादन देशकै उत्कृष्टमध्ये रहेको दाबी गरे। उनले अदालतले विपद्पछिको पुनर्निर्माणसँगै न्याय सेवाको निरन्तरता र प्रभावकारितालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
जेनजी आन्दोलनको आगजनीले अदालतको भौतिक संरचना मात्र होइन, वर्षौँदेखि सुरक्षित राखिएका हजारौँ कानुनी अभिलेख पनि नष्ट हुँदा न्याय प्रशासनमा गम्भीर क्षति पुगेको छ। त्यसका बाबजुद अदालतले सेवा अवरुद्ध हुन नदिई न्यायिक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।


