२०८३ बैशाख ३१, बिहीबार
श्रीखबर/भरतपुर। चितवनका उद्याेगी व्यवसायीहरुका लागि आइएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणाली अन्तर्गत आन्तरिक गुणस्तर परीक्षण (Internal Audit) सम्बन्धी तीनदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

National Certification and Management Nepal Pvt. Ltd.को आयोजना तथा चितवन उद्योग वाणिज्य संघको सहकार्यमा वैशाख २८ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएको तालिममा विभिन्न संस्था तथा प्रतिष्ठानका १५ जनाको सहभागिता रहेको थियो।
तालिम उद्घाटन गर्दै संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले गुणस्तर व्यवस्थापन प्रणालीले संस्थाको विश्वसनीयता, सेवा गुणस्तर र कार्यकुशलता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले कार्यालयको गुणस्तर सुधारका लागि कर्मचारी तथा नेतृत्व तहलाई यस्ता तालिम अपरिहार्य रहेको उल्लेख गर्दै सहभागीहरूलाई सक्रिय रूपमा सिक्न र आफ्ना जिज्ञासा निसंकोच राख्न आग्रह गर्नुभयो।
तालिमका प्रमुख प्रशिक्षक डा. जनार्दन घिमिरे तथा सहप्रशिक्षक सम्झना बलामीले आन्तरिक गुणस्तर परीक्षण प्रक्रिया, दस्तावेज व्यवस्थापन, जोखिम व्यवस्थापन, कार्यकुशलता सुधार, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कार्यप्रणाली निर्माणका विषयमा प्रशिक्षण दिनुभएको थियो। संघका उपाध्यक्ष तथा सचिवालय एवं आइएसओ व्यवस्थापन समितिका संयोजक जनक पौडेलले चितवन उद्योग वाणिज्य संघले विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गर्दै आइएसओ प्रमाणपत्र प्राप्त गरी आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
Magnus Pharmaceuticals, Oxford College, Narayani Public College, SY Panel, Everest Color तथा Vishwo Jyoti Schoolलगायतका संस्था तथा प्रतिष्ठानका प्रतिनिधिहरू तालिममा सहभागी भएका थिए।
अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन संघका कार्यकारी निर्देशक निलबहादुर के.सी.ले गर्नुभएको थियो। कार्यक्रममा संघका उपाध्यक्ष दय नारायण प्रधानलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यस तालिमले सहभागी संस्थाहरूलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार व्यवस्थापन प्रणाली सुदृढ गर्न, सेवा तथा उत्पादनको गुणस्तर अभिवृद्धि गर्न र संस्थागत विश्वसनीयता थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।


