२०८३ बैशाख ९, बुधबार

इ.सुदिप ढकाल
….कम्युनिस्ट पार्टीको ७७ अैाँ स्थापनाकाे विशेष अवसरमा म गर्वका साथ भन्छु—आज पनि, भोलि पनि हो,म एमाले नै हुँ। किनकि मेरो लागि राजनीति केवल सत्ता प्राप्तिको माध्यम होइन; यो सिद्धान्त, स्थिरता र राष्ट्रप्रतिको अटल प्रतिबद्धता हो। हावाको दिशासँगै बग्ने राजनीति मेरो होइन—त्यो त स्वार्थको राजनीति हो।
मेरो पहिचान भनेको आफ्नो अडान र विश्वासमा अडिग रहनु हो। आलोचना आउँछन्, प्रश्न उठ्छन्—तर हरेक जायज प्रश्नको जवाफ दिनु र जिम्मेवारी बहन गर्नु नै सच्चा कम्युनिस्ट चरित्र हो। मेरो मार्ग स्पष्ट छ, मेरो निर्णय दृढ छ ।
किन कि ….
१. पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिहरु एमाले नेतृत्व मै भएका छन । एमाले नेतृत्वमा देशभर मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, फास्ट ट्र्याक (काठमाडौँ–तराई) जस्ता रणनीतिक परियोजनाहरू अघि बढाइए। धरहरा पुनर्निर्माण, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जस्ता परियोजनाले आधुनिक नेपालको पूर्वाधार बलियो बनाएका छन्।
२. ऊर्जा क्षेत्रमा आत्मनिर्भरता तर्फ फड्को लोडसेडिङ अन्त्य गर्ने अभियानलाई संस्थागत बनाउँदै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि गरियो। माथिल्लो तामाकोशी जस्ता ठूला परियोजनाले नेपाललाई ऊर्जा निर्यात गर्ने अवस्थामा पुर्याउने आधार तयार गर्यो।
३. सामाजिक सुरक्षा र जनकल्याणका कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, अपाङ्गता सहायता जस्ता सामाजिक सुरक्षा कार्यक्रमको विस्तार एमाले सरकारले नै व्यापक बनायो। स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरेर आम नागरिकलाई स्वास्थ्य सेवामा पहुँच बढाइयो।
४. राष्ट्रियता र स्वाभिमानको स्पष्ट अडान राख्यो । छिमेकी मुलुकसँग सम्बन्ध राख्दा समानता र स्वाभिमानको नीति अपनाइयो। नक्सा विवादका बेला नेपालको नयाँ नक्सा जारी गरी राष्ट्रिय स्वाभिमानको रक्षा गरिएको ऐतिहासिक निर्णय गरियो। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वतन्त्र पहिचान स्थापित गर्ने प्रयास निरन्तर गरियो।
५. आर्थिक सुधार र समृद्धिको आधार बिर्माण गर्यो । “समृद्ध नेपाल, सुखी नेपाली” को दीर्घकालीन दृष्टिकोणमार्फत औद्योगिक विकास, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा जोड दिइयो। डिजिटल नेपाल अभियान, सडक सञ्जाल विस्तार, लगानी सम्मेलन जस्ता पहलहरूले अर्थतन्त्रलाई चलायमान बनाउने आधार तयार गरे।
६. राजनीतिक स्थिरता र बलियो शासनका लागी बहुमतको सरकार गठन गरेर नीतिगत स्थिरता र विकासको गति बढाउने प्रयास एमालेले गर्यो। दीर्घकालीन योजना (Vision-based governance) मार्फत अल्पकालीन लोकप्रियता होइन, दीर्घकालीन विकासलाई प्राथमिकता दिइयो।
७. आलोचनाप्रति उत्तरदायी दृष्टिकोणको हिसाबले फेरि पनि भन्छु एमालेमाथि केवल आरोप लगाउने होइन—यदि राष्ट्रविरुद्ध कुनै अपराध भएको छ भने, कानुन बमोजिम कारबाही हुनुपर्छ भन्ने स्पष्ट धारणा छ । अन्यथा, अपुष्ट र आधारहीन आरोपहरूको अन्त्य हुनु आवश्यक छ भन्ने अडान राख्दछु ।
८. जनविश्वासको ऐतिहासिक निरन्तरता दिदै ४० वर्षभन्दा बढी संघर्ष, आन्दोलन र विकासको यात्राबाट कमाएको जनविश्वास एमालेको सबैभन्दा ठूलो पूँजी हो।
आज एमालेको त्यही शक्ति कमजोर पारेर देश लुटने र लुटाउने योजनामा एमाले प्रती भ्रम छर्नेहरुले एक पटक मलाइ प्रश्न गर्नु अघि आफ्नै शुद्द मन लाई सोध त – नयाँ शक्तिहरूले यति छोटो समयमा त्यो जन विश्वास गुमाउन थालेको यथार्थता हो कि हैन ? आफ्ना कमजोरी लुकाउन अर्कालाइ आरोप मात्रै लगाएर कहिले सम्म बस्छौ ? देशको विकास, समृद्धि र स्वाभिमानको यात्रामा म सधैं उभिएको छु, र उभिइरहनेछु— किनकि म एमाले हुँ।
एमाले केवल एक राजनीतिक दल मात्र होइन; यो एउटा विचार, आन्दोलन र राष्ट्र निर्माणको दीर्घकालीन प्रतिबद्धता हो। यस्को नेतृत्वमा त धेरै ब्यक्ती आउछन र जान्छन पनि । यसले पूर्वाधार विकासदेखि राष्ट्रियताको रक्षा र सामाजिक न्यायसम्म ठोस कामहरू गरेको छ। त्यसैले, कसैलाई शंका छ भने स्पष्ट सुनियोस्— म हिजो पनि एमाले थिएँ, आज पनि हुँ, र भोलि पनि रहनेछु। सगर्व।
(लेखक इ. सुदिप ढकाल चितवन माडीवासी हुनुहुन्छ। कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आलेख समर्पित छ।)


