२०८३ बैशाख ७, सोमबार

श्रीखबर। चितवनमा विन्दा पाण्डेद्वारा लिखित ‘भुइँमान्छे’ र ‘भूमिगत महिला’ पुस्तकहरूमाथि भएको विमर्श केवल साहित्यिक कार्यक्रम मात्र थिएन—त्यो एक यस्तो ऐना थियो, जसले नेपाली राजनीतिक इतिहासका ओझेलिएका अनुहारहरूलाई उजागर र्थियो । कार्यक्रममा सहभागीहरूको आँखामा आश्चर्य, पीडा र गर्व एकसाथ झल्किन्थ्यो।एक सहभागीले भनेका शब्द— “म भूमिगत कालमा सेल्टर दिने मान्छे, तर अहिले छायामा परेको”—ले सम्पूर्ण विमर्शको सार बोकेको थियो।त्यो एउटा वाक्य मात्र होइन, त्यो एउटा युगको मौन इतिहास हो, जहाँ हजारौं निस्वार्थ ‘भुइँमान्छे’हरू आफ्नो अस्तित्व बिर्सेर आन्दोलनको आधार बने।
यी कृतिहरू अक्षरहरूको साधारण संयोजन होइनन्; ती तीर्थझैँ पवित्र कथाहरू हुन्, जहाँ भान्छाको धुवाँ, आँगनको माटो र ढोकाको सानो खुल्ला ठाउँबाट लोकतन्त्रको बीउ रोपिएको थियो।
जब नेताहरू भूमिगत थिए, त्यतिबेला उनीहरूलाई आश्रय दिने ती साधारण परिवारहरूले आफ्नो ज्यानलाई जोखिममा राखेका थिए। विशेषगरी महिलाहरूको कथा अझ गहिरो छ। उनीहरू केवल सहायक पात्र होइनन्, आन्दोलनका मौन नायक हुन्। अर्काको घरमा लुकेर बस्दा महिनावारी जस्तो स्वाभाविक अवस्थालाई व्यवस्थापन गर्नु, आफ्ना सन्तानबाट टाढा रहनु, समाजको अपहेलना सहनु—यी सबै पीडाहरू उनीहरूले चुपचाप बोके।
उनीहरूको आँसु, डर र दृढताले नै परिवर्तनको जग तयार गर्यो। त्यो समयको आन्दोलन केवल नाराहरूमा सीमित थिएन; त्यो शरीर, मन र आत्माको परीक्षा थियो।
महिलाहरूले आफ्नो पहिचान, सुरक्षा र भविष्य सबै जोखिममा राखेर परिवर्तनको सपना बोके। आज हामीले भोगिरहेको खुलापन, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्र तिनै अदृश्य महिलाहरूको साहसको परिणाम हो।तर विडम्बना के छ भने, आजको राजनीतिक परिवेशमा ती त्याग र बलिदानहरू क्रमशः ओझेल पर्दै गएका छन्। सत्ताको कुर्सीमा पुगेकाहरूले ‘म नै परिवर्तनको वाहक हुँ’ भन्ने अहंकार प्रदर्शन गर्दा, ती भुइँमान्छेहरूको योगदानलाई बेवास्ता गरिन्छ।
यो केवल विस्मृति होइन—यो इतिहासप्रतिको अन्याय हो। विन्दा पाण्डेका यी कृतिहरूले इतिहासलाई केवल सम्झाउँदैनन्, वर्तमानसँग जोड्छन्। नयाँ पुस्तालाई यिनले एउटा महत्वपूर्ण सन्देश दिन्छन्—परिवर्तन ठूला भाषणले मात्र होइन, सानो घरको ढोकाभित्र लुकेका साहसी निर्णयहरूले सम्भव हुन्छ। आज आवश्यक छ , हामीले ती ‘भुइँमान्छे’हरूको सम्मान पुनःस्थापित।
लोकतन्त्रको वास्तविक मूल्य त्यतिबेला मात्र स्थापित हुन्छ, जब यसको जग बनाउने अदृश्य हातहरूलाई पहिचान गरिन्छ। यी पुस्तकहरू पढ्नु भनेको केवल इतिहास पढ्नु होइन, आफ्नै समाजको आत्मा बुझ्नु हो। विशेषगरी महिलाहरूको साहस, सहनशीलता र अदम्य इच्छाशक्तिको कथा बुझ्नु हो।
अन्ततः, लोकतन्त्रको असली सम्मान भाषणमा होइन—त्यो ती भुइँमान्छे र भूमिगत महिलाहरूको योगदानलाई स्वीकार गर्ने हाम्रो व्यवहारमा देखिनुपर्छ। माेति स्मृति केन्द्रकाे वव्यानमा प्रकाशित कृति `भूमिगत जहाँ १४ बढी महान महिलाका भूमितत जिन्दगीलाई कालजयी बनाएकाे छ । कृति र कृतिकारकाे जय हाेस्…
(लेखक कृष्ण खनाल राष्ट्रिय जनसाहित्यिक सङ्घका केन्द्रीय सदस्य समेत रहेका पत्रकार हुन्।)


