२०८२ चैत १७,मँगलबार
श्रीखबर/ चितवन,“अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालन भइरहेको आर्थिक गणना २०८२ अन्तर्गत चितवनमा जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ।
भरतपुर महानगरपालिका का कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक गणेश अर्याल, माडी नगरपालिका का प्रमुख ताराकाजी कुमारी महतोसहित विभिन्न सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरू, उद्योग–वाणिज्य क्षेत्रका अगुवाहरू, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी रेणु कुमारी घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै आर्थिक गणनाको पृष्ठभूमि, उद्देश्य, यसको राष्ट्रिय महत्त्व तथा सरोकारवालाहरूको भूमिकाबारे विस्तृत जानकारी गराउनुभएकाे थियने।
घिमिरेले तथ्यांकको शुद्धता र विश्वसनीयताले नीति निर्माण, योजना तर्जुमा तथा आर्थिक विकासको मार्गचित्र निर्धारणमा निर्णायक भूमिका खेल्ने बताउनुभयो । त्यसैगरी, केन्द्रीय प्रतिनिधि एवं निर्देशक ऋषिराम सिग्देलले आर्थिक गणना किन, कसरी, कसका लागि र कहिले गरिन्छ भन्ने विषयमा विस्तृत प्रस्तुति दिनुभएको थियाे।
यथार्थपरक तथ्यांक संकलनमार्फत मुलुकको वास्तविक आर्थिक अवस्था पहिचान गर्न सकिने बताउँदै सिग्देलले आर्थिक गणनालाई सबैकाे सहयोगमा पूर्णता दिनुपर्ने बताउनुभएकाे थियाे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सँग आबद्ध स्थानीय उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ, चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासंघ चितवन शाखा तथा जिल्लाका सातै स्थानीय तहका प्रतिनिधिहरूले आर्थिक गणना सफल पार्न आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।
उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न उक्त कार्यक्रम जिल्ला आर्थिक गणना कार्यालय, चितवनको आयोजनामा भएको हो। कार्यक्रमले आर्थिक गणना अभियानलाई प्रभावकारी बनाउन सरोकारवालाहरूबीच समन्वय र सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ।


