२०८२ फागुन २०, बुधबार

@ दिक्षा खनाल
श्रीखबर/मकैमा भाले (चमरा/जमरा) र पोथी (घोगा र जुँगा) अङ्ग एउटै बिरुवामा हुन्छन्। बिरुवा १६–१८ पात भएपछि माथि चमरा (Tassel) निस्कन्छ—यो भाले अङ्ग हो। घोगाबाट निस्कने जुँगा (Silk) पोथी अङ्ग हो।
चमरामा उत्पादन हुने धुलोजस्तो परागकण (Pollen) जुँगामा खस्दा मात्रै दाना बन्छ। जति जुँगामा पराग खस्छ, त्यति दाना लाग्छ। * पराग नखसेका जुँगा भएको भागमा घोगा थाेता (खाली) रहन्छ।

#थाेता घोगा लाग्नुका प्रमुख कारण-
१. परागणमा समस्या-
अत्यधिक गर्मी वा तातो हावा चमर निस्कने बेला हुरीबतास लामो समय सुख्खा अवस्था यी कारणले पराग जुँगामा सही समयमा नखस्दा दाना बन्न सक्दैन।
२. चिस्यानको कमी-
चमर निस्कने र जुँगा आउने समय अत्यन्त संवेदनशील हुन्छ। यस समयमा खेतमा पर्याप्त चिस्यान नभए परागण कमजोर हुन्छ।
३. बीउको गुणस्तर कमजोर वर्णसंकर (Hybrid)-
बीउ उत्पादनमै प्राविधिक त्रुटि भएमा वा अविश्वसनीय स्रोतबाट बीउ खरिद गर्दा थाेता घोगा लाग्न सक्छ।
४. पोषण व्यवस्थापनको कमी-
नाइट्रोजन, फस्फोरस, पोटास लगायत सूक्ष्म तत्वको कमी हुँदा दाना विकासमा असर पर्छ।
५. रोपाइँ दूरी र घनत्व –
अत्यधिक बाक्लो रोपाइँ गर्दा हावा र घामको उचित पहुँच नहुँदा परागण प्रभावकारी हुँदैन।
= धेरै फलाउने व्यावहारिक उपाय
१. चिस्यान व्यवस्थापन चमर निस्कने र जुँगा आउने समयमा सिँचाइ सुनिश्चित गर्ने। माटो सुक्न नदिने तर पानी जम्न पनि नदिने।
२. गुणस्तरीय बीउ छनोट विश्वसनीय कम्पनी वा सरकारी स्वीकृत स्रोतबाट मात्र बीउ खरिद गर्ने। आफ्नै बीउ प्रयोग गर्दा स्वस्थ र भरिलाे घोगाबाट मात्र छान्ने।
३. सन्तुलित मलखाद माटो परीक्षणका आधारमा मल प्रयोग गर्ने। सिफारिस मात्रामा नाइट्रोजन, फस्फोरस, पोटास र सूक्ष्म तत्व दिने।
४. उचित दूरीमा रोपाइँ लाइनमा रोप्ने र सिफारिस गरिएको दूरी कायम गर्ने। हावा चल्ने र पराग सजिलै फैलिन सक्ने वातावरण बनाउने।
५. समयमै रोपाइँ अत्यधिक गर्मी वा हुरीबतासको समय टारेर स्थानीय उपयुक्त मौसममा रोप्ने। निष्कर्ष मकैको घोगा थाेता हुनु प्राकृतिक प्रक्रिया मात्र होइन, व्यवस्थापन कमजोरीको परिणाम पनि हुन सक्छ।
पर्याप्त चिस्यान, गुणस्तरीय बीउ, सन्तुलित मलखाद र उचित परागण व्यवस्थापन गरेमा घोगाभरी दाना लाग्ने सम्भावना उच्च हुन्छ। व्यवसायिक कृषि गर्न ज्ञान र प्रविधि दुबैको समन्वय आवश्यक छ। सचेत किसानले वैज्ञानिक सल्लाह अपनाए मकै खेती अझ लाभदायक बन्न सक्छ।
— (लेखक खनाल कृषि तथा वन विश्वविद्यालय, रामपुरमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ र श्रीखबर अनलाइनमा कृषि तथा वन–वातावरण वीटबाट पत्रकारिता गर्नुहुन्छ।)


