२०८२ पुष १७, बिहीबार

- नारायण पाैडेल
श्रीखबर/इतिहासमा केही नेताहरू केवल शासनकर्ता मात्रै हुँदैनन्, उनीहरू राष्ट्रिय आत्मसम्मान र वैकल्पिक विकास–दृष्टिको प्रतीक बन्छन्।
मुअम्मर कर्णेल गद्दाफी र नेपालका के.पी. शर्मा ओली—भूगोल, शासनप्रणाली र अन्तर्राष्ट्रिय हैसियत फरक भए पनि, राष्ट्रवाद, आत्मनिर्भरता र विदेशी हस्तक्षेपप्रतिको असहमतिमा यी दुई राजनीतिक धारहरूबीच उल्लेखनीय वैचारिक समानता देखिन्छ।
राष्ट्रवादको केन्द्रीय प्रश्न अर्थात सार्वभौमिकता कसको हातमा रहने भन्ने विषयमा लिबियामा गद्दाफीले तेल उद्योग राष्ट्रियकरण गर्ने , पश्चिमी सैन्य अड्डा निष्कासन गर्न ,जस्ता धेरै अर्थात राष्ट्रिय सार्वभौमिकता लाई उनले आर्थिक नियन्त्रण र राजनीतिक स्वायत्तता संग जोडेका थिए।
रास्ट्रबादको यहि केन्द्रिय प्रश्नमा नेपालमा के पि ओलिले भारतसँगको नाकाबन्दीविरुद्ध लिएको अडान, नयाँ नक्सा जारी गर्दै लिम्पियाधुरा–कालापानी–लिपुलेक समेट्ने निर्णय, “नेपाल कसैको इशारामा चल्दैन” भन्ने राजनीतिक भाष्य स्थापित गर्न सफल भएका छन ।
ओलीले राष्ट्रवादलाई भू–राजनीतिक दबाबका बीच आत्मसम्मानको रक्षा संग जोडेको पाइन्छ ।
समानता: दुवैले राष्ट्रवादलाई भावनात्मक नारामा होइन, राज्य निर्णयको स्तरमा प्रस्तुत गरे। फरक के भने गद्दाफीले एकदलीय/व्यक्तिकेन्द्रित राज्य प्रयोग गरे, ओली बहुदलीय संसदीय सीमाभित्र बाँधिए।
विकास र समृद्धिलाई स्रोतको उपयोग कसका लागि? भन्ने दृष्टिकोणका आधारमा विश्लेषण गर्दा गद्दाफीको मोडेल अनुसार तेल बिक्रिको आम्दानी सिधै जनताको जीवनस्तरमा लगानी गरेको पाइन्छ ।
निःशुल्क शिक्षा, स्वास्थ्य, आवास बेरोजगारी भत्ता, मातृत्व भत्ता संग जोडेको पाइन्छ भने ओलीको “समृद्ध नेपाल” यात्रा “समृद्ध नेपाल, सुखी नेपाली” जलविद्युत्, सडक, रेल, सुरुङ मार्ग , सामाजिक सुरक्षा भत्ता विस्तार आदि संग जोडिएको पाइन्छ ।
गद्दाफी र ओलीदुबैको दृस्टिकोणमा राज्य भनेको जनताको प्रत्यक्ष संरक्षक र पूर्वाधार निर्माणकर्ता सहित अवसर सृजक हुन पर्छ भन्ने साझा दृस्टिकोण पाइए पनि दुबै दृस्टिकोणमा भएको भिन्नता हेर्दा लिबिया: प्रत्यक्ष वितरणको कल्याणकारी राज्य भन्न मिल्छ भने नेपाल: पूर्वाधारमार्फत दीर्घकालीन समृद्धिको परिकल्पना गरेको पाइन्छ ।
दुखद कुरा के भने नेपालमा विदेशी ऋण, दातृ निर्भरता र संरचनागत सीमाले ओलीको समृद्धि यात्रालाई गद्दाफी जत्तिकै “जनमुखी” बन्न दिएन ।
यहाँसम्म आइपुग्दा दुबै मुलिक र दुबै नेताको साम्राज्यवादसँगको टकराव पनि प्रत्यक्ष या अप्रत्यक्ष रुपमा एकै प्रकृतिका पाइन्छन ।
गद्दाफी साम्राज्यवादसँग खुला टकरावको चपेटामा परे ।
ANC, IRA जस्ता आन्दोलनलाई समर्थन र पश्चिमी शक्तिको स्पष्ट विरोधकै परिणाम: सन् २०११ को हिंसात्मक सत्ता परिवर्तन र हत्याको अवस्था बन्यो ।
ओली भारत–केन्द्रित क्षेत्रीय प्रभुत्वप्रति आलोचनात्मक बन्दै चीनसँग वैकल्पिक कूटनीतिक सम्बन्ध बिस्तार गर्न खोज्नु लाई खुला सैन्य वा वैचारिक टकराव नभई सफ्ट पावर टकराबको चपेटामा फस्न बाध्य भए ।
परिणाम: आन्तरिक पार्टी विद्रोह, सत्ता अस्थिरता आदि ब्यहोर्न बाध्य भए । अन्ततः गद्दाफीलाई बम र मिसाइलले हटाइयो, ओलिलाइ जेन जि बिद्रोहको आबरणमा खेलेर अस्थिरताका खेलाडीको सत्ता खेलले कमजोर बनायो।
दुबैको शासन मोडेललाई हेर्ने हो भने गद्दाफी ग्रीन बुक- पिपुल्स कङ्रेस प्रत्यक्ष लोकतन्त्रको दाबी गर्ने तर व्यवहारमा व्यक्तिकेन्द्रित शक्तिको मोडेलमा देखिन्छन भने ओली संविधानभित्रको संसदीय लोकतन्त्र अदालत, संसद्, गठबन्धनको नियन्त्रणको मोडेल भएकाले राष्ट्रवादी इच्छा भए पनि निर्णय क्षमता सीमित थियो ।
यही कारण ओली गद्दाफीजस्तो “कट्टर राष्ट्रवादी आर्थिक मोडेल” लागू गर्न सकेनन्। आज—लिबिया: सशस्त्र गिरोह, राष्ट्रिय सम्पत्तिको लुट, राज्य विघटन देखि फर्केर गद्दाफीप्रतिको पछुतो र स्मृति मा आइपुगेको छ । ठिक त्यस्तै नेपाल: राजनीतिक अस्थिरता, विदेशी निर्भरता, समृद्धिको अधुरो सपना, चट्टानी राष्ट्रवाद नारामा सीमित हुने खतरा देखि देश नै कता पुग्ने खतराको बादलमा हराइरहेको छ।
राष्ट्रवाद केवल नेताको इच्छाले होइन, संस्थागत शक्ति र जनसमर्थनले मात्र टिक्छ। नेपालमा यसैलाइ टिक्न नदिनु दु:खद हो ।
जे भए पनि दुबै देशका जनताले बुझेको कुरा के हो भने – यदि राज्यसँग स्रोत र निर्णय शक्ति भयो भने जनतालाई के दिन सकिन्छ भन्ने गद्दाफिले देखाइदिए भने चाहना भए पनि संरचना कमजोर भयो भने कति सीमित हुनुपर्छ भन्ने ओलिको भोगाइले देखाइदिएको छ
आज लिबियालीहरू गद्दाफीलाई राष्ट्रिय विभूति सम्झिरहेका छन्। भोलि नेपाली इतिहासले सोध्न सक्छ— के.पी. ओली चट्टानी राष्ट्रवादको वास्तविक विकल्प थिए, कि अधुरो संरचनामा थुनिएको सम्भावना मात्र?
यो प्रश्नको उत्तर भविष्यले दिनेछ, तर गद्दाफी र ओली—दुवैको राजनीतिले हामीलाई एउटा साझा सत्य सिकाउँछ: राष्ट्रवाद भाषण होइन, आर्थिक सार्वभौमिकता र जनताको जीवनस्तरसँग जोडिँदा मात्र इतिहास बन्छ।
(प्राध्यापन पेशामा सँलग्न लेखक पाैडेल एक कुशल विश्लेषककाे रुपमा परिचित व्यक्तित्व हुनुहुन्छ )


