२०८२ पुष ५, शनिबार
@ कृष्ण खनाल
श्रीखबर/ चितवनको हात्तीसारमा जन्मिएर हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकली आज कतारको अलखोर पार्कस्थित चिडियाघरमा छन्।
कानुनी प्रक्रिया पूरा गरेर, कूटनीतिक निर्णयका आधारमा, उनीहरू ‘राजकीय उपहार’ बनेर सीमाना पार गरे। भीड लागेको छ, पर्यटकको आकर्षण बनेका छन्, फोटो खिचिँदैछ — बाहिरबाट हेर्दा सबै ठिकै जस्तो देखिन्छ। तर यही दृश्यभित्र एउटा गहिरो भावनात्मक प्रश्न लुकेको छ।
रुद्रकलीलाई माउते बुद्धिलाल श्रेष्ठले तलाउमा नुहाइरहेका छन्, खगेन्द्रप्रसादलाई पाचुखा थारुले फुलबुट्टा भरेर सिँगारिरहेका छन्।

यी दृश्य केवल चिडियाघरका क्रियाकलाप होइनन्, यी नेपालका वन, माटो र मानिससँग जोडिएको भावनाको निरन्तरता हुन्।
हात्ती र माउतेको सम्बन्ध केवल पेशागत होइन, त्यो भरोसा, सम्झना र मौन संवादको कथा हो। तर प्रश्न उठ्छ— के वन्यजन्तु उपहार बन्नु नै कूटनीतिक सफलता हो?
नेपाल जैविक विविधताले धनी देश हो, यहाँ हात्ती केवल जनावर होइन, सांस्कृतिक र पर्यावरणीय प्रतीक हुन्।
उनीहरूलाई विदेशी चिडियाघरमा ‘प्रदर्शन’ का रूपमा राखिनु गर्वको विषय हो कि आत्मसमीक्षाको घडी? कतारका अमिरको नेपाल भ्रमणका क्रममा लिइएको निर्णयले दुई देशबीचको सम्बन्ध मजबुत भएको सन्देश दिन्छ। तर त्यससँगै नेपालले के सन्देश पठायो— हामीसँग वन्यजन्तु संरक्षणको दीर्घकालीन दृष्टि छ, कि हामी अझै पनि प्रकृतिलाई कूटनीतिक उपहारको रूपमा हेर्छौँ?

खगेन्द्रप्रसाद र रुद्रकली आज सुरक्षित छन्, हेरचाह भइरहेको छ, भीडले घेरिएको छ। तर उनीहरूको आँखामा देखिने मौन प्रश्न हामीले सुन्न सकिरहेका छौँ त? विकास, कूटनीति र संरक्षणबीच सन्तुलन खोज्ने जिम्मेवारी राज्यको मात्र होइन, समाजको पनि हो।
यी दुई हात्ती कतारका पर्यटकका लागि आकर्षण हुन सक्छन्, तर नेपालका लागि उनीहरू ऐना हुन्— जहाँ हामीले आफ्नै नीति, संवेदना र प्राथमिकता देख्नुपर्ने छ।
( लेखक कृय्ण खनाल लैङ्गिक तथा महिलावादी आन्दोलन मुल विषयमा स्नातकोत्तर पत्रकार हुन्)


