२०८२ साउन २९, बिहीबार
चितवन । महिला उद्यमशिलतालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ चितवन उद्योग संघ, महिला उद्यमी मञ्चले “तेश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८२” गर्ने भएको छ।
मेला साउन ३० देखि भदौ १ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा सञ्चालन हुनेछ। मेला मार्फत उद्यमशील महिलालाई एउटै छानामुनि जमघट गराउने, अनुभव र ज्ञान साटासाट गर्ने, उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण गर्ने, साथै महिला उद्यमीको ब्रान्ड र कम्पनीको छवि प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ।
साथै, नेपालका लघु, घरेलु तथा साना महिला उद्यमीहरूको सञ्जाल विस्तार गरी उत्पादनको बजारीकरण र लगानीको अवसर खोज्ने पनि एक्स्पोको उद्देश्य रहेको छ। आयोजकका अनुसार एक्स्पोमा हस्तकलाका सामान, तीज विशेष सामग्री, लत्ताकपडा, जुत्ता–चप्पल, बुटिकका उत्पादन, गिफ्ट आइटम, गरगहना, खाद्यान्नका परिकार, मेहन्दी, सौन्दर्य सामग्री तथा सेवाहरू, बैंक तथा वित्तीय संस्था, इन्सुरेन्स कम्पनी, कृषिजन्य उत्पादन तथा विभिन्न परिकारका खानाका स्टलहरू राखिने छन्।
मेलामा ३५ भन्दा बढी स्टल रहने छन्। कार्यक्रमले महिलालाई स्वरोजगार र उद्यमशीलतामा जोड्ने, सीप विकासको सम्भावना पहिचान गर्ने, दिगो उद्यमशिलताको लागि मानसिक रुपमा तयार पार्ने र तीज जस्ता पर्वलाई आर्थिक अवसरसँग जोड्न सकिने सन्देश दिने विश्वास आयोजकले लिएको छ। साथै, तीज मनाउने सन्दर्भमा ‘दर खाने’ नाममा हुने विकृति न्यूनिकरण गर्दै पर्वलाई उद्यमशिलताको प्रवर्द्धनमा उपयोग गर्न सकिने अपेक्षा पनि गरिएको छ।


