२०८२ साउन २५, आइतबार
सांस्कृतिक वैभवमा गहिरो जरा गाडेको समवेदनासँग जाेडिएकाे गाईजात्रा पर्व एक अद्वितीय परम्परा हो। विशेषगरी काठमाडौं उपत्यका र बागमती प्रदेशका विभिन्न क्षेत्रमा यो पर्व सदियौंदेखि जीवित छ।
रानीको शोकलाई कम गर्न, मृतकको सम्झना गर्दै र जीवनको नश्वरतालाई स्वीकार गर्न राजा प्रताव मल्लले शुरुगरिएकाे उल्लेख याे परम्परा समाजकाे भावनात्मक घाउमा हास्य–व्यङ्ग्यको मलहम लगाउने संस्कारसँग सम्बन्धित छ।
यस पर्वले मृत्युजस्तो गहिरो पीडाको घडीमा सामूहिक सहानुभूति र मनोबलको सन्देश दिन्छ भने अर्कोतर्फ समाजलाई आडम्बरी, ढोंगी र अन्यायपूर्ण संरचनाविरुद्ध कलात्मक व्यङ्ग्य गर्ने अवसर प्रदान गर्छ। कलाकार, हास्यव्यङ्ग्यकार र साहित्यकारहरूले गाईजात्रालाई आफ्नो अभिव्यक्ति, प्रतिवाद र सचेतनाको मंचका रूपमा उपयोग गर्दै आएका छन्।
गाईजात्रा केवल शोकलाई मलहम लगाउने पर्व मात्र नभएर सामाजिक प्रतिबिम्बको ऐना पनि हो। यसकाे मञ्चमा समाजका विसंगति, राजनीतिका विकृति र नेताहरूका कमराेरीलाई व्यङ्ग्यको भाषामा प्रस्तुत गरिन्छ। यो प्रस्तुति मनोरञ्जन मात्र होइन, परिवर्तनको प्रेरणास्रोत पनि हो।
जब प्रजाले हास्य–व्यङ्ग्यका माध्यमबाट आफ्ना शासक वा नेतृत्वलाई आलोचना गर्छन्, तब त्यो आलोचनाले चेतना जगाउने काम गर्छ। पछिल्लो समय गाईजात्राको मूल भावनामा केही वाणिज्यिक प्रभाव र भडकिलो प्रदर्शनको छाया परेको देखिन्छ। मौलिकता र सन्देशमूलक प्रस्तुति भन्दा मनोरञ्जनकै नाममा सतही प्रस्तुति बढी हुन थालेको चिन्ता छ।
गाईजात्राको वास्तविक महत्त्व जोगाउन यसको व्यङ्ग्य र सांस्कृतिक मूल्यमाथि ध्यान दिनु अत्यावश्यक छ। गाईजात्रा हामीलाई स्मरण गराउँछ । जीवन क्षणभंगुर छ, मृत्युलाई स्वीकार्नु र पीडालाई साझा भावनाले कम गर्नु संस्कार हो। साथै, अन्याय र विसंगतिविरुद्ध बोल्ने साहसलाई संरक्षण गर्नु नागरिकको कर्तव्य हो। यसकारण, गाईजात्रा केवल पर्व होइन, हाम्रो सामाजिक चेतना र लोकतान्त्रिक संस्कारको सजीव प्रतीक हो।


