२०८१ चैत्र १४, बिहीबार
कृष्ण खनाल
चितवन। साविक पिठुवा हाल रत्ननगरका रामप्रसाद रिमालले ट्रक नै रिजाप गरेर माैरी चराउन कहिले देउखुरी, कहिले काउले त कहिले राक्सिराङ पुग्नु हुन्थ्याे । साविक पिठुवा हाल रत्ननगर १४ का प्रल्हाद अर्याल त झन् माैरी पालक किसानकाे नेतृत्व नै गर्नुहुन्थ्यो उबेला । `धेरैले पाल्थ्याैँ तर छाेडी सकियाे´ भन्नुहुन्छ प्रल्हाद अर्याल । किन त भनेर साेद्धा साझा उत्तर हाे` अनेक दु:ख कष्ट गरेर मह उत्पादन गर्याे बेच्न नै नसकेपछि के गर्ने ।´
नेपाल जैविक विविधताले सम्पन्न देश, जहाँ मौरी पालन (एपिकल्चर) को प्रचुर सम्भावना छ। यहाँका भौगोलिक क्षेत्र, वनस्पति तथा मौरी जातिहरूले व्यवसायिक मौरी पालनलाई सहज बनाउन सक्छन्। तर, उत्पादन, सँकलन देखि बजारसम्म चुनौतीहरुले गर्दा मह जस्ताे महत्त्व खाद्य पाेषण तथा अैाषधीय पदार्थले नेपालमा भने उद्योगकाे रुप लिन सकिरहेकाे छैन ।
माैरीपालनकाे भने नेपालमा प्रशस्त सम्भावना रहेकाे विज्ञहरु बताउँछन् ।
कृषि कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेल देखि कृषि तथा वन विश्वविद्यालय रामपुरमा प्राध्यापन गराईरहनुभएका माैरी विज्ञ डा.केदार देवकाेटा समेत गुणस्तरीय महकाे बारेमा जनचेतना जगाउन नसक्दा किसानकाे महले बजार नपाएको र गुणस्तरहीन र नामधारी महकाे बजारमा रजाइँ चलेकाे बताउनुहुन्छ।

[ डाक्टर केदार देवकोटा ]
`वास्तविक मह कस्ताेहुन्छ भन्ने नै उपभोक्तालाई जानकारी छैन ।माैसम अनुसारकाे स्वाद र गन्ध हुनुपर्छ भन्ने नै थाहा छैन,त्यहि पहेँलो लेदाे झाेललाई मह भन्याे किन्याे त्यहि डब्बा, बाेतलमा मह टाँसेकाे पहेँलो नै मह भन्ने ठान्छन् मान्छेहरु´ – श्रीखबर अनलाइनसँगकाे कुराकानीमा डा.देवकोटाले बताउनुभयो ।
नेपालमा राम्राे अन्तर्राष्ट्रिय स्तरकाे बहुराष्ट्रिय कम्पनीले हातहालिदिए नेपालमा गुणस्तरीय मह उत्पादन र बजारीकरण गै उद्योगकाे रुपलिने प्रशस्त सम्भावना रहेकाे माैरी विज्ञ डा. देवकोटा बताउनुहुन्छ। व्यवसायीक हिसाबमै नेपाल माैरी पालनका लागि भने उर्भर भूमि रहेकाे उहाँको ठहर छ।
- कस्ताे छ त माैरीपालनका सम्भावनाहरु-
नेपालमा पाइने माैरीहरु यहाँकाे हावापानी सहनसक्ने जातका छन् । हिमाली तथा पहाडी भेगका लागि एपिस सेराना (Apis cerana) माैरी उपयुुक्त जात हाे । यसलाई व्यवसायीक हिसावले सिफारिस जात मानिन्छ। अलि ठूलो आकारकाे याे माैरीले खुल्ला ठाउँमै मह बनाउँछ । जुन नेपाली भूभागमा उपयुक्त रहेकाे माैरी विज्ञकाे भनाइ रहेकाे छ। समथर भूभागकाे लागि एपिस फ्लोरिया (Apis florea): सानो आकारको जंगली मौरी व्यवसायीक पालनकाे लागि सिफारिस जात हाे । तराईमा एपिस मेलिफेरन माैरी सिफारिस गरिएकाे छ।
- व्यवसायिक मह उत्पादनको सम्भावना –
नेपालमा मौरी पालनबाट मह (Honey), मोम (Beeswax), परागकण (Pollen), प्रोपोलिस (Propolis) जस्ता उत्पादन निकाल्न सकिने विज्ञहरुले बताएका छन्। नेपालमा उत्पादित अर्गानिक मह को अन्तर्राष्ट्रिय माग रहेकाे माैरी विज्ञ डा. देवकोटा बताउनुहुन्छ। अझ जडिबुटी मिश्रित मह (जस्तै: रुद्राक्ष, बहुप्रजातीय फूल) को बजार राम्रो रहेकाे वहाँले बताउनुभयो । विज्ञका अनुसार मौरी परागसेचन (Pollination) बाट कृषिमा उत्पादकत्व वृद्धि हुनेगर्छ। माैरी पालनलाई व्यवसायिकरण गर्न सकिए प्रशस्त राेजगारीकाे समेत सृजना हुने देखिन्छ ।
अन्य व्यवसायमा जस्तै माैरीपालनमा समेत विभिन्नखाले समस्या रहेकाे पाईन्छ ।

[प्रमुख झलकनाथ कँडेल]
- रोग तथा परजीवी समस्या प्रमुख समस्याकाे रुपमा रहेकाे विज्ञहरुले बताएका छन्।
भरोआ माइट (Varroa Destructor) ले मौरीहरूलाई कमजोर बनाउँछ भने नोजेमा (Nosema) नामक रोगले मौरीहरूको मृत्यु हुन सक्छ।
- कीटनाशक औषधिको प्रयोगले मौरीहरूको जनसंख्या घट्दै गएको छ।
*तापक्रम वृद्धि र अनियमित मौसम परिवर्तनले मौरीहरूको जीवनचक्र प्रभावित भएकाे प्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
- बजार तथा नीति व्यवस्थापनको कमजोरीका कारण नेपालमा उत्पादित मह अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकेको छैन।
- मह उत्पादन तथा बिक्रीका लागि सरकारले प्रभावकारी नीति बनाउनु पर्नेमा डाक्टर देवकोटाले जाेड दिनुभएको छ।
नेपालमा मौरी पालन कृषि तथा ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण अंग बन्न सक्छ। जैविक विविधता, अनुकूल वातावरण र बजारको उच्च मागले यो व्यवसायलाई अझ सम्भावनायुक्त बनाएको छ। तर, रोग, जलवायु परिवर्तन, प्रविधि अभाव, नीति कमजोरी जस्ता चुनौतीहरू समाधान गर्न सकेमा नेपालमा मौरी पालन एक प्रभावशाली उद्यम बन्न सक्छ।
आम नागरिकलाई बास्तविक महकाे स्वादकाे बारेमा जनचेतना जगाउने उद्देश्यले मह दिवसको अवसर पारेर कृषि कार्यालय परिसर चितवनमा महपानी खुवाउने काम सम्पन्न भएकाे कृषि कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयाे ।


