१५ माघ २०८१, मंगलबार
निःशुल्क सेवा दिने उद्देश्यले चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीले भरतपुर अस्पताल चितवनमा बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।
डा. केसीले छ दिनदेखि बिरामीको स्वास्थ्य उपचार गरिरहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले बताए । ‘उहाँले ओपिडी र वार्डमा भर्ना भएका बिरामी हेरिरहनुभएको छ’, डा.पौडेलले भने ‘उहाँ बुधबारदेखि बिरामीको सेवामा लाग्नुभएको छ ।’
डा.गोविन्द केसीले देशका ७७ जिल्लामा पुगेर बिरामीको स्वास्थ्य उपचार गरिसकेका छन् ।देशका सबै जिल्ला पुगिसकेको छु,’ उनले भने ‘अहिले चितवनमा सेवा दिन सकिन्छ कि भनेर आएको छु ।’ भरतपुर अस्पतालमा अझै एक साता रहने उनले बताए ।
केसीले युद्ध ग्रस्त र भूकम्प जस्ता प्राकृतिक विपत्तिमा परेका १० वटा देश पुगेर बिरामीलाई उपचार र औषधि उपलब्ध गराएका छन् ।
असल चिकित्सक बन्न समेत अन्य चिकित्सकलाई अनुरोध गरेका डा.केसी वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ हुन् ।


