श्रीखबर सम्पादकीय
२०८३ भाद्र १८, बुधबार
श्रीखबर/भोटेकोशीको बाढीले संरचना मात्रै बगाएन, कैयौँ परिवारका सदस्य पनि बेपत्ता बनायो। कोही मृत भेटिएका छन्, कोही अझै हराइरहेका छन्। नदी किनारमा उद्धारकर्मीहरू अहोरात्र खोजिरहेका छन् भने आफन्तहरू भिजेका आँखासहित एउटै आशामा छन्—‘सायद मेरो मान्छे जीवितै भेटिएला।’ तर खोजी सकिएको औपचारिक घोषणा नहुँदै सरकार भने शाेक र श्रद्धाञ्जली अर्पण मा हतारिएकाे देखिन्छ।
प्रश्न यहीँबाट उठ्छ—खोजीको अन्तिम घोषणा अगावै शोक घोषणा गर्न राज्यलाई हतारो किन ? शाेक उसैदिनदेखि देशले खेपि नै सक्याे। एउटै घटनालाई पटकपटक राष्ट्रिय शाेक घाेषणागर्ने छैन नजिर ।
चितवनमा भेटिएका पहिचान नखुलेका शव देवघाटनजिक जंगलमा अस्थायी रूपमा व्यवस्थापन गरिएका छन्। डीएनए परीक्षण र पहिचानको प्रक्रिया बाँकी छ।
पहिचान भइसकेका शवसमेत परिवारले पाउन नसकेको अवस्था छ भने पहिचान नभएका शवमध्ये आफ्नो मान्छे खोजिरहेका परिवारलाई आश्वासन के हो ? देवघाटकाे जँगलमा शव व्यवस्थापनसँगै सामूहिक श्रद्धाञ्जली, पुष्पगुच्छा र दीपप्रज्वलनसमेत भइसकेको छ। यस्तो दृश्यले अझै आफ्नो मान्छे खोजिरहेका परिवारलाई के सन्देश दिन्छ—खोजी सकियो ? मृत्यु निश्चित भयो ?
राज्यका लागि विपद् एउटा प्रशासनिक घटना हुन सक्छ। तर परिवारका लागि विपद् त्यतिबेला मात्र सकिन्छ, जब उसले आफ्नो मान्छेको अन्तिम सत्य थाहा पाउँछ। जीवित छ भने खोजौँ। मृत हो भने पहिचान गरौँ। पहिचान भएको छ भने परिवारलाई शव बुझाऔँ।
एउटा निस्चित समय आउने छ जतिखेर राज्यले खाेज तथा उद्धार कार्य सकिएकाे घाेषणा गर्नु नै पर्नेछ, याे विनाशकाे।त्यसपछि शोक मनाउन राज्यलाई कसैले रोक्दैन। एउटै घटनालाई पटकपटक शाेक घाेषणागर्ने नजिर नभएकाे र घटना घटेलगत्तै देश शाेकमै परेकाे परिस्थितिमा खाेज तथा उद्धारकार्यक्रमकाे समाप्तिसँगै राष्ट्रिय शाेक घाेषणा हुनु अझ ओजपूर्णहुनेमा शँका छैन।
तर खोजी जारी रहेकै बेला शोक घोषणा गर्ने हताराे भनेको परिवारको आशाभन्दा राज्यको प्रशासनिक निष्कर्ष अगाडि राख्नु हुनजानेमा शँका छैन। शोकको हतारभन्दा खोजीको जिम्मेवारी ठूलो हो।
किनकि राज्यको पहिलो दायित्व नागरिकको मृत्यु घोषणा गर्नु होइन—अन्तिम सम्भावनासम्म उसको जीवन खोज्नु हो। मृत्युु घाेषणा त समयले निर्धारण गरेरै छाेड्नेछ। `खाेजीकार्य नराेकिदै परिस्थितिकाे गर्व निर्क्याेल अगाबै न श्रद्धाञ्जलीले कुनै अर्थ राख्न न त शाेक बिदाले।


