२०८३ साउन ६, बुधबार
श्रीखबर/भरतपुर। चितवनमा आयोजना हुने ‘चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला–२०८३’ लाई अन्तर्राष्ट्रिय आयाम दिने उद्देश्यका साथ चितवन उद्योग संघ र बङ्गलादेश–नेपाल चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजबीच महत्वपूर्ण सम्झौता भएको छ।
बङ्गलादेशमा उत्पादित गार्मेन्ट तथा छालाजन्य वस्तुहरू एक्स्पोमा प्रदर्शनी तथा बिक्रीका लागि स्टलमार्फत सहभागी गराइनेछ।यसले नेपाल–बङ्गलादेशबीच व्यापारिक सम्बन्ध विस्तार गर्नुका साथै चितवनको व्यापार मेलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।
सम्झौतापत्रमा चितवन उद्योग संघका उपाध्यक्ष एवं प्रदर्शनी विभाग प्रमुख गजेन्द्र अधिकारी र बङ्गलादेश–नेपाल चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका अध्यक्ष नविन थापाले हस्ताक्षर गरेका छन्।
२०८३ भदौ १९ देखि २१ गतेसम्म सञ्चालन हुने मेलामा सहभागी संस्थाहरूले प्राप्त गर्ने सेवा–सुविधा, सहुलियत, सञ्चालन प्रक्रिया तथा आपसी समन्वयका विषय सम्झौतामा समेटिएका छन्।
विदेशी प्रदर्शकहरूको नेपाल बसाइ, प्रदर्शनीस्थलसम्मको आवतजावत तथा आवश्यक व्यवस्थापनमा आयोजकले सहजीकरण गर्ने व्यवस्था गरिएको सम्झौतापत्रमा चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेल, बङ्गलादेश–नेपाल चेम्बर अफ कमर्श र्एण्ड इण्डष्ट्रिजकी कार्यसमिति सदस्य सरिता भट्टराई श्रेष्ठ, महिला उद्यमी मञ्चकी निवर्तमान अध्यक्ष सृजना सोती तथा उद्यमी अन्जान ढकालले समेतकाे हस्ताक्षर रहेकाे मञ्चकी अध्यक्ष सरिता खनाल पाैडेलले श्रीखबर अनलाइनलाई जानकारी दिनुभयो ।
चितवन उद्योग संघका पूर्वअध्यक्ष राजु पौडेल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, साकोस व्यवस्थापक प्रमिला थापा, सञ्चार अधिकृत राजु भट्ट, कार्यक्रम अधिकृत कल्पना आचार्यलगायतको सँस्थागत व्यक्तिहरुकाे सामुहिक छलफलपछि सम्झाैता भएकाे सञ्चार अधिकृत राजु भट्टले बताउनुभयो ।
`सम्झौता हुनुअघि धेरै विषयमा छलफल भए´- भट्टले भन्नुभयाे ´हामी विदेशीहरुकाे चितवन बसाइँ समेत लम्ब्याउन चाहन्छौं ´।
पूर्वअध्यक्ष राजु पाैडेलका अनुसार `यस सहकार्यले चितवनको तीज विशेष उद्यमशील एक्स्पोलाई अन्तर्राष्ट्रिय सहभागितासहित थप आकर्षक बनाउने, विदेशी उत्पादनको बजार विस्तार गर्ने तथा नेपाल–बङ्गलादेशबीच आर्थिक तथा व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।´


