२०८३ जेष्ठ १३, बुधबार
@ कृष्ण खनाल
श्रीखबर/माडी । गणतन्त्र दिवसको अवसर पारेर माडीमा “गणतन्त्र दिवस विशेष माडी मौलिक संस्कृति उत्सव–२०८३” आयोजना हुने भएको छ।

माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा माडी नगरपालिकाको सहकार्यमा हुने उक्त कार्यक्रम जेठ १५ गते दिउँसो ३ बजेबाट बसन्तपुर बजारस्थित खुला चौरमा सञ्चालन गरिने भएको हो। माडी प्रज्ञा प्रतिष्ठान ऐन, २०८१ बमोजिम गठन भएको माडी प्रज्ञा प्रतिष्ठानले पहिलोपटक आयोजना गर्न लागेको यस उत्सवलाई सम्पूर्ण माडीवासीको साझा सांस्कृतिक पर्वका रूपमा लिइएको छ।
“गणतन्त्रको गर्व, हामी सबैको पर्व” भन्ने मूल भावसहित आयोजना हुन लागेको कार्यक्रममा मौलिक कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा तथा सामाजिक सद्भावको संरक्षण, प्रवर्द्धन र प्रदर्शन गरिने आयोजकले जनाएको छ।
उत्सवमा थारु समुदायका ८ प्रकारका सांस्कृतिक प्रस्तुति, मगर, तामाङ, नेवार, दुरा, गुरुङ, चेपाङ, राई, दराई लगायत १२ जनजातिका सांस्कृतिक झाँकी तथा प्रस्तुति समावेश गरिनेछ। त्यस्तै दलित समुदायका पञ्चेबाजा र सारङ्गी प्रस्तुति, ब्राह्मण–क्षेत्री समुदायका स्वस्तिवाचन र भजन, स्थानीय कलाकार तथा विद्यालयका लोकदोहोरी गायन र नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाउने जनाइएको छ।
कार्यक्रमकै दाैरानमा बसन्तपुर बजार क्षेत्रमा मौलिक तथा आकर्षक झाँकीसहित सांस्कृतिक परिक्रमा गरिनेछ। साथै विभिन्न जातजातिका मौलिक परिकारसहित “मौलिक खाना पर्व” पनि आयोजना गरिनेछ, जहाँ माडीका प्रसिद्ध माछा तथा दुग्धजन्य परिकारको स्वाद लिन सकिनेछ। उत्सवलाई सभ्य, भव्य र जनसहभागितामूलक बनाउन माडी नगरपालिका अन्तर्गतका वडा कार्यालय, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, सुरक्षा निकाय, पत्रकार, सामाजिक अभियन्ता, शैक्षिक तथा स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, धार्मिक तथा सामाजिक संघसंस्था, व्यवसायिक प्रतिष्ठान, होमस्टे व्यवसायी तथा सम्पूर्ण माडीवासीलाई मौलिक पहिचान झल्कने पोशाक र झाँकीसहित कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।
जेष्ठ १३ गते भरतपुरमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै माडी नगरपालिका र माडी प्रज्ञा प्रतिष्ठानले चितवनका सबै स्थानीय तह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, विभिन्न सरकारी कार्यालय, प्रज्ञा प्रतिष्ठान, पत्रकार महासंघ तथा विभिन्न संघसंस्थालाई पनि कार्यक्रममा सहभागिता, सहयोग र अवलोकनका लागि हार्दिक आग्रह गरेका छन्। माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटा र माडी नगरपालिकाकी नगर प्रमुख तारा कुमारी काजी महतोले यस उत्सवले गणतन्त्रको भावना, सामाजिक एकता, सांस्कृतिक विविधता तथा स्थानीय पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको बताउनुभएको छ।
पत्रकार सम्मेलनमा माडी नगरपालिका प्रमुख,उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतका साथै आयाेजक सँस्थाका प्रतिनिधि समेतकाे उपस्थित रहेकाे थियाे।


