२०८३ भाद्र १०, बुधबार
श्रीखबर/ चितवन रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएकाे दु:खद परिस्थितिका बीच चितवन उद्योग संघले विपद्को यस कठिन घडीमा निजी क्षेत्रलाई सक्रिय रूपमा उद्धार तथा राहत कार्यमा जुट्न अपिल गरेको छ।
संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै बाढी तथा विपद्बाट प्रभावित नागरिकको शीघ्र उद्धार, सुरक्षित स्थानान्तरण तथा स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोग गर्न आग्रह गरेको छ।
संघका अध्यक्ष मदन घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रभावित नागरिकका लागि उद्धार, राहत, अस्थायी आवास, खाद्यान्न, स्वच्छ खानेपानी, औषधि तथा स्वास्थ्य उपचार, लत्ताकपडा र अन्य अत्यावश्यक सामग्री तत्काल उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याइएको हाे। यसका लागि नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था, नागरिक समाज तथा सम्पूर्ण सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको संघले जनाएको छ।
विशेषगरी निजी क्षेत्रका उद्योगी, व्यवसायी, उद्यमी तथा सामाजिक संघसंस्थालाई आफ्नो क्षमता, स्रोत, साधन र पहुँचअनुसार उद्धार तथा राहत अभियानमा सक्रिय सहभागी हुन संघले आग्रह समेत गरेको छ। प्रभावित नागरिकका लागि आवश्यक खाद्यान्न, खानेपानी, औषधि, स्वास्थ्य सेवा, अस्थायी आवास तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय र स्थानीय तहसँग समन्वय गरी तत्काल सहयोग पुर्याउन अपिल गरिएको छ।
‘सबैले सहयोग गरौँ, पीडितलाई साथ दिऔँ’ भन्ने मानवीय भावनाका साथ राहत, उद्धार तथा पुनःस्थापनाका काममा निजी क्षेत्र र सरोकारवालाहरू एकजुट हुनुपर्ने संघको भनाइ छ।
विपद् व्यवस्थापन सरकार एक्लैले गर्न नसक्ने भन्दै संघले सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिकको सामूहिक प्रयासबाट मात्र प्रभावित नागरिकलाई आवश्यक राहत, सुरक्षा, आश्रय तथा पुनःस्थापनाको अनुभूति दिलाउन सकिने जनाएको छ। भोटेकोशी बाढीको प्रभाव मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने र त्रिशूली नदी आसपासका क्षेत्र उच्च जोखिममा रहेको भन्दै सम्बन्धित निकायले पनि सतर्कता अपनाउन आग्रह गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले समेत आफ्ना मातहतका उद्योग वाणिज्य संघ तथा निजी क्षेत्रलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत र सुरक्षा व्यवस्थापनमा सक्रिय हुन अपिल गरेको छ।
चितवन उद्योग संघले विपद्को तत्कालीन उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापनामा समेत निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।


