लघुकथा : “तीन दिन”
२०८३ असार १४,आइतबार
@ कृष्ण खनाल श्रीखबर/त्रिपुरेश्वरस्थित काठमाडौं नर्सिङहोमतर्फ हामी चार जना लाग्यौं। उद्देश्य थियो—प्रगतिशील राष्ट्रिय युवा संघको राष्ट्रिय अधिवेशनबारे महासचिव मदन भण्डारीसँग छलफल गर्नु। म त केवल साथीहरूको पछि लागेको थिएँ।
म कृष्ण, अर्कै वामपन्थी धारबाट प्रशिक्षित, चितवन जिल्ला विद्यार्थी संगठनको उपाध्यक्ष। मनमा आफ्नै विचार, आफ्नै विश्वास।
अभिवादन गर्नेबित्तिकै मदन कमरेडले चिन्तभावमा भन्नुभयो, “वामपन्थी राजनीतिमा थप जटिलता आउँदैछ। साथीहरू भूमिगत हुँदैछन्, सशस्त्र आन्दोलनको कुरा गर्दैछन्।” त्यसपछि सुरु भयो विचारको यात्रा। नेपाली वाम आन्दोलन, विश्व राजनीति र लोकतन्त्रबारे तीन दिनसम्म निरन्तर छलफल चल्यो। उहाँ तर्कले जित्न खोज्नुहुन्नथ्यो; सोच्न बाध्य पार्नुहुन्थ्यो।
तीन दिनपछि मैले केवल एउटा नेता भेटेको थिइनँ, एउटा नयाँ राजनीतिक दृष्टि भेटेको थिएँ। बहुदलीय प्रतिस्पर्धा नै लोकतन्त्रको सबैभन्दा उपयुक्त बाटो हो भन्ने निष्कर्षसँगै मेरो वैचारिक यात्रा मोडियो। त्यहीँ, उहाँकै रोहवरमा, मैले प्रगतिशील राष्ट्रिय युवा संघको सदस्यता लिएँ।
म एमाले बनेँ—मदनले भाषणले होइन, विचारले जित्नुभएको एउटा कार्यकर्ता। तर त्यो भेट नै पहिलो र अन्तिम बन्यो।
केही महिनापछि दासढुंगाको दुर्घटनाले मदन भण्डारी र जीवराज आश्रितलाई हामीबाट सधैंका लागि खोस्यो। दुर्घटनाको रहस्य अझै इतिहासकै एउटा अनुत्तरित प्रश्न बनेर बाँचेको छ। तर मेरा लागि मदन भण्डारी दासढुंगामा रोकिनुभएन।
उहाँसँग बिताएका ती तीन दिन आज पनि मेरो विचारमा जीवित छन्। हरेक असार १४ आउँदा म फूल होइन, ती तीन दिन सम्झन्छु। किनकि कहिलेकाहीँ जीवन बदल्न तीन दिन नै पर्याप्त हुदारहेछन्।
( जननेता मदनकुमार भण्डारीकाे ७५ अैाँ जन्मदिनको अवसरमा वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली )


