२०८३ असार ७, आइतबार
श्रीखबर/चितवन। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराजा गुरुङले युवालाई नेताको वरिपरि घुम्ने कार्यकर्ता मात्र नभई भविष्यका नेता बन्न तयार हुन आग्रह गरेका छन्।
राष्ट्रिय युवा संघ चितवनको ११औँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई शनिबार भरतपुरस्थित क्यान्सर अस्पतालको सभाहलमा सम्बोधन गर्दै अध्यक्ष गुरुङले युवाले नेताको चाकडी गर्न घर–घर र विमानस्थल धाउने संस्कृतिबाट मुक्त हुनुपर्ने बताए। उनले जनताको दुःख–सुखमा साथ दिने, समाजसँग प्रत्यक्ष जोडिने र नेतृत्व क्षमताको विकास गर्ने काममा केन्द्रित हुन युवालाई सुझाव दिए।उनले भने- `केटाहुन हाेइन नेताहुन लाग्नुहाेस्´ ।“केवल नेताको पछाडि लागेर अवसर खोज्ने होइन, समाजमा आफ्नो भूमिका स्थापित गर्दै नेता बन्ने तयारी गर्नुपर्छ,” उनले भने।
गुरुङले पछिल्लो समय सामाजिक सेवाको नाममा फोटो खिचेर सामाजिक सञ्जालमा प्रचार गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै युवालाई उत्पादन र उद्यमसँग जोडिन आग्रह गरे। “फेसबुकमा तस्वीर राख्ने मात्र होइन, उत्पादनशील क्षेत्रमा लागेर आत्मनिर्भर बन्ने संस्कार विकास गर्नुपर्छ,” उनले बताए। एमालेभित्र देखिएका गुटगत समस्या जनवर्गीय संगठन र युवा संघसम्म पुगेको उल्लेख गर्दै उनले पार्टीका नेताहरूलाई समेत गुटबन्दीबाट माथि उठ्न आग्रह गरे।
पार्टीभित्र युवाको प्रभावकारी भूमिका कमजोर बनेको स्वीकार गर्दै अबका दिनमा युवाले हस्तक्षेपकारी र सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। उनले पार्टीभित्र आफू बाहेक सबै गलत भन्ने मनोविज्ञानले संगठनलाई कमजोर बनाउने बताउँदै सफलता र असफलता दुवैमा नेतृत्व पंक्तिको साझा जिम्मेवारी रहने धारणा व्यक्त गरे। कार्यक्रममा राष्ट्रिय युवा संघका कार्यकर्तासँगै नेकपा एमालेका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
अधिवेशनको बन्दसत्र आइतबार बस्ने र नयाँ नेतृत्व चयन गर्ने तयारी रहेको आयोजकले जनाएको छ। पछिल्ला वर्षहरूमा देशभरका राजनीतिक दलहरूमा युवाको सक्रिय सहभागिता घट्दै गएको चर्चा भइरहेका बेला गुरुङको अभिव्यक्तिलाई एमालेभित्र युवाको भूमिकाबारे गम्भीर आत्मसमीक्षाका रूपमा हेरिएको छ।
रोजगारी, वैदेशिक पलायन र राजनीतिक नेतृत्वप्रति बढ्दो निराशाबीच युवालाई संगठनको केन्द्रमा ल्याउन नसके राजनीतिक दलहरूको भविष्य चुनौतीपूर्ण बन्ने विश्लेषण भइरहेका छन्।
एमालेले ‘युवाको पार्टी’ भन्ने पहिचानलाई व्यवहारमा उतार्न सक्यो भने मात्र आगामी पुस्तालाई आकर्षित गर्न सक्ने देखिन्छ। त्यसका लागि युवालाई केवल भीडको संख्या बढाउने साधन होइन, नीति निर्माण र नेतृत्वको जिम्मेवारी दिने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता अधिवेशनमा उठेका धारणाले संकेत गरेको छ।


