२०८३ जेठ १०, आइतबार
श्रीखबर/चितवन । आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै युभान नेपालले गामबेसीस्थित चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाका लागि ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग प्रदान गरेका छन्। गत १७ नोभेम्बरमा परेको आफ्नो जन्मदिनको अवसर पारेर जापानमा रहेका उनका परिवार तथा सहयोगीहरूको सहभागितामा संकलित रकममार्फत केन्द्रलाई ३१ बोरा चामल सहयोग गरिएको हो।
चेपाङ संरक्षण केन्द्रका प्रमुख सल्लाहकार दीपक बाबु नेपालमार्फत उक्त सहयोग केन्द्रसम्म पुगेको हो। युभानका बुबा जापानमा व्यवसाय गर्दै आउनुभएको छ।
जन्मदिनको अवसरमा उहाँले १४ हजार ९६ जापानी येन सहयोग गर्नुभएको थियो। साथै, उहाँको व्यवसाय स्थलमा राखिएको डोनेसन बक्समार्फत जापानी नागरिक युकी नाकासानले ३७ हजार ९०४ रुपैयाँ सहयोग गर्नुभएको थियो भने अन्य सहयोगीहरूबाट समेत सहयोग संकलन गरिएको थियो। संकलित रकम दीपक नेपालमार्फत केन्द्रका सल्लाहकार सुजन नेपाललाई पठाइएको थियो।
सुजन नेपालले आफ्ना साथीहरू नेप्लिज फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष सन्तोष भट्ट तथा नेपाल तेक्वान्दो संघ चितवनका सदस्य नारायण नहर्कीसहित केन्द्र पुगेर ३१ बोरा चामल हस्तान्तरण गर्नुभएको हो।
केन्द्रका प्रमुख सल्लाहकार दीपक बाबु नेपालले सुरुदेखिनै जापानमा रहेका नेपाली तथा विभिन्न सामाजिक व्यक्तित्वहरूसँग सहकार्य गर्दै चेपाङ बालबालिकाको संरक्षण र शिक्षाका लागि सहयोग जुटाउँदै आइरहनुभएको छ।
जापानलाई कर्मथलो बनाए पनि उहाँ नेपालका विभिन्न स्थानमा समस्यामा परेका व्यक्ति तथा सामाजिक संघसंस्थालाई निरन्तर सहयोग गर्दै सक्रिय सामाजिक योगदान दिँदै आउनुभएको बताइएको छ।
चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले दीपक बाबु नेपालको निरन्तर सहयोगले केन्द्र सञ्चालन र बालबालिकाको संरक्षणमा ठूलो टेवा पुगेको बताउनुभयो। उहाँका अनुसार प्रत्येक वर्ष विभिन्न माध्यमबाट केन्द्रलाई आवश्यक सहयोग उपलब्ध हुँदै आएको छ।


