२०८२ असार २८, शनिबार
@कृष्ण खनाल
चितवन। नेपालीमा स्नातकोत्तर हरि सर ( हरिप्रसाद अधिकारी ) का ४२ वर्ष – विद्यालय र क्याम्पसमा नेपालीका शब्द र विद्यार्थीका चाहमै समय बित्याे । नयाँ नयाँ खाेजखन्तरमा लागि रहने हरिसरलाई भाङ्ताे कामगर्न खुब मनपर्छ भन्थे गाउँले पनि ।

हुनपनि हरिसरकाेले ४०-४२ सालतिरै देखि कृषिमा आधारित भाङ्ताे सपना देख्नुभएकाे हाे । बुबा पण्डित, पुराेहित बाँकी सबैभाइ शिक्षक । काेहि विद्यालयका त काेहि क्याम्पसका । हरिसरकाे भाङ्ताे अनुसन्धान र सम्भावना देख्ने भित्री नजर ।
२०४२ सालतिर कुलाेका डिल र गराका आलीभरि अडिर र किम्बुकाे बिरुवा सार्ने अनि कलिलो पात टिप्दै रेशम किरालाई खुवाउने । स्याउँस्याउँ कीरा । नाङ्लाेमा पाल्ने अनि खाका बनाउने र रेशम बेच्ने । अनुभव मै सकियाे हरिसरकाे रेशम पालन ।
अर्काे भाङ्ताे राेज्नुभयाे हरिसरले साथीहरूसँग मिलेर । गलैंचा बुन्ने बेच्ने । अझ विदेशमै बेच्ने सपना। बाहुनकाे कुलमा कखुरै चै नपालेकाे भएहुन्थ्याे भन्ने बुबा घरमै । हरिसरलाई अर्काे भाउताेले छाेयाे । खेतका गरामा माटाे भर्ने अनि खाबाे गाडेर खाेर बनाउने र बाेइलर कुखुराे पाल्ने । धानखाने खेतमा पुरै कुखुराकाे खाेर । माविकाे तलव ल्यायाे खाेरका चल्लालाई दाना खन्यायाे । ऋणधन पनि शुरुभए हरिसरका ।यि सबै द्वन्द्व शुरु नहुँदैका समयका हरिसरका कृषि उद्यमी बन्ने भाउँताे काे लहडकाे रहर ।
त्यतिले मात्रै रहर नमेटिएका हरिसरले सरकारी शिक्षक छाेडेर आफैँ मालिक आफैँ नाेकर बन्ने स्वराेजगार व्यवसाय शुरु गर्नुभयाे ठूलै बाेर्डिङ स्कूल ।
अधिकारी साहिँला । हरि सर । साविक पिठुवाकाे खनालटाेल तिर छिर्ने बाटाे ३ नम्वर वडा । अहिले अधिकारी एग्राे फर्म जाने १४ वडा । त्यसै अधिकारी एग्राेफर्म जानेबाटाे भने हरिसरकाे भाउँताेले नभै वहाँकाे दिनरातकाे मेहनत , खटाइ र वस्तुनिष्ट अध्ययन अनुसन्धान र परिणामले बनेकाे हाे ।
जिन्दगीका सबै भाउँताेहरुलाई बर्तमानकाे उर्जा मान्नुहुने हरिसर अब नेपाली गुरुबाट अनुभव र जाँगरले खारिएका `अनुभवी ड्रागन खेती विशेषज्ञ तथा अर्गानिक खेतीपद्धतिका अगुवा लेखक ´ मा परिणत हुनुभएको छ।
`किसानकाे प्रयोगशाला नै माटाे हाे। माटाेले देखाउने परिणाम वैज्ञानिक प्रयोगशालाकाे परिणामभन्दा बढी वस्तुगत हुन्छ´ भन्नुहुने हरिसर अव सफल बागबानी उद्धमीबाट अनुभवसिद्ध विद्वान लेखकमा पड्काे मार्नुभएकाे छ ।
हालै वहाँले लेख्नुभएको `अर्गानिक तथा अर्गानिक उन्मुख खेती ´पुस्तकमा विशेषगरी अर्गानिक खेती किन र कसरी भन्ने बारेमा उल्लेख छ । आधुनिक खेति र रासायनिक मल प्रयाेगकाे नाममा कृषिभूमि मरुभूमिमा परिणत हुँदैगैरहेकाे बताउँदै हरिसरले निरन्तर प्रयास र प्रयाेगबाट प्राङ्गारिक, अर्गानिक खेती गर्न सम्भव हुने कृतिमा उल्लेख छ ।
यस कृति मार्फत हरि सरले माटाे बचाउने र पुनर्निर्माण गर्ने तरिका, बिरुवालाई आवस्यक पाेषणकाे परिपुरण, मित्रजिव सँरक्षणका,मलखाद बनाउने व्यवहारिक तरिकाका साथै विभिन्न खेतिपद्धतिकाे बारेमा सरल भाषामा प्रस्तुत गर्नुभएको छ।
लेखकले कृतिमार्फत नेपालका किसान र कृषिमा देखापरेका समस्या उल्लेख गर्दै समाधान पहिल्याउन काेशिस गर्नुभएको छ। हरि सरकाे एग्राेफर्ममा दैनिकजसाे स्वदेश र विदेशबाट कृषि तथा बागवानी सम्बन्धि अध्ययन, अनुसन्धान गर्न विद्यार्थी तथा विज्ञटाेलीहरु आउनेगरेकाे हरिसर बताउनुहुन्छ ।
सैयाैँ बिगाहामा केरा खेतीकाे अनुभवी हरि सरकाे एग्राेफर्ममा विभिन्न खाले कागती , ड्रागन फ्रुट,भुँईँकटहर,सितल चिनी लगाएतका व्यवसायीक खेती भैरहेकाे छ ।


