२०८२ जेष्ठ २६,साेमबार
@ कृष्ण खनाल
दर्बुङकाे दक्षिणीभेग रामपुर गाेरखाबाट ३ छाेरा १ छाेरी सहित कलबहादुर अधिकारी पत्नी डिलमायाँलाई साथै लिएर चितवन झरे। गरिबीले आक्रान्त डिलबहादुर रत्ननगर ५ टराैली पुगे र पराइकै गाेठलाई बाेराले बारबेर गरे। दिनभरिकाे ज्याला – मजदुरीबाट जुरेकाे सामल तामललाई त्यहि झुपडीमा उमाल्थे र घरै सरह रात गुजार्दै नयाँ – सुन्दर दिनकाे कल्पना गरिरहन्थे।

दिन त नयाँ आयाे तर कलबहादुरकाे नयाँ दिन पीडाले भरिएर आयाे। ३६ वर्षीया पत्नी डिलमायाँ अधिकारीले ४ वटा सन्तान कलबहादुरलाई नासाेकाे रुपमा जिम्मा लगाइन् र परलाेक लागिन् । अब भने कलबहादुरकाे जिवनमा एकैपटक अन्धाकारमात्र छाएन, श्रीमतीलाई घाटसम्म लैजाने सामर्थ्य र लालाबालाकाे भाेक मेटाउने दुबै उपाए रहेन ।

(कलबहादुर परिवारका लागि सहयोगकाे आव्हान गर्दै अभियानकर्मी केपि किरण शर्मा)
गरिबीले उनलाई यसरी थलायाे कि कहाँ, जाने के ल्याउने, के खाने ।अतालिए कलबहादुर। गरिबीका कारण काजकिरिया नै राेकिएकाे खबर जब सञ्जालमै फैलियाे तबबाट कलबहादुर माथि परेकाे वज्र अब कलबहादुर अधिकारीकाे मात्रै रहेन । सारा समाज, नागरिक अभियान्ता र देश विदेशमा रहेका सहयाेगी मनकारीहरुकाे साझा समस्या बन्नपुग्याे । कलबहादुरकाे परिवारलाई परेकाे पीडा बास्तवमै मानवतावादी दृष्टिले सहयाेगगर्न याेग्य छ भन्ने खबर देश- विदेश मा फैलिनपुग्याे।
बेखर्ची कलबहादुरकाे पत्नी डिलमायाँकाे मृत्युमा काजकिरिया गर्ने समेत सामर्थ्ये नभएकाे खबरले अभियान्ता जगतकाे ध्यान तान्याे ,मन तान्याे। अभियान्ताहरु केपिकिरण शर्मा, सागर मिश्र, प्रेम रिमाल जस्ता दर्जनौं सामाजिक व्यक्तित्वहरु कलबहादुरकाे पीडा सुन्न, सहयाेग गर्न र भावि दिनकाे शुभभाव राख्न पुगे । यसैबीच डेजी बाेर्डिङका सञ्चालन प्रेम रिमालले जेठाे छाेरालाई १२ कक्षासम्म पढाउने बचन दिए भने एसओएस बालग्रामले बच्चाहरु पढाउन आर्थिक सहयोग गर्ने बचन दियाे।
सहयोगीबाट प्राप्त आर्थिक र जिन्सी सहयोग सामाग्रीबाट कलबहादुरकी श्रीमतीकाे सनातन परम्पराबाट काजकिरिया हुने र खर्चपर्चकाे बाटाे त खुल्याे तर गरिबीले थलिएका अधिकारी परिवारकाे बस्ने थातथलाे भने थिएन । यसैबीच कलबहादुर परिवारलाई घडेरी किनेर घर बनाइदिने जबरजस्त काममा लाग्याे अभियान्ता केपी किरण शर्माकाे अगुवामा दर्बुङ – चितवन सम्पर्क समाज।
कलबहादुर दर्बुङ- चितवन सम्पर्क समाजकाे कार्यक्षेत्र भित्रका व्यक्तिपनि हुन्, दर्बुङ्गे नागरिक।
याे समाजकाे स्थापना आपसी भाइचारा र सम्वन्धकाे विकास गर्नुका साथै विपत्तिमा परेकाहरुकाे सहयाेगी सँस्था समेत भएकाेले `घरबार बिहिन´ कलबहादुर अधिकारीलाई घडेरी किनेर घर बनाउन अभियान चाल्ने जवर्जस्त निर्णय गर्याे दर्बुङ चितवन सम्पर्क समाजले ।
कलबहादुर परिवारलाई रत्ननगरकै ५ नम्वर,टराैलीकाे बासी बनाएर राख्न देबी कुँवरका छाेरा समाजसेवी कृष्णचन्द्र कुँवरकाे समेत विशेष याेगदान रहनेगरि करिव १० धुर घडेरी खरिद गरिएकाे छ। यस पुण्य कार्यका लागि देशविदेशबाट सहयाेग रह्यो ।
कलबहादुरका सबै परिवारकाे सँयुक्त नाममा पूर्जा रहनेगरि घडेरी खरिद गरि हस्तान्तरण गरिएको अभियानकर्मी केपि किरणले बताउनुभयो ।
समाजकाे परिकल्पनाकार केपि किरण शर्मा (कपिलप्रसाद खनाल) काे विशेष अगुवाइमा शुरुगरिएकाे `कलबहादुर परिवारलाई घर बनाउने अभियान´ सञ्चालन भैरहेकाे दर्बुङ- चितवन सम्पर्क समाजका सदस्य तथा अभियानमा सकृय सहभागी शँकर खनालले बताउनुभयो ।सबै मनकारीहरु कै सहयोगले कलबहादुरका परिवारले घर प्राप्त गर्न हुनाले सबैसँग सहयोगकाे अपेक्षा गरिएको समाजका सदस्य जिवन घिमिरे बताउनुहुन्छ।
`हामी शीतका थाेपा थाेपा बटुल्दैछाैँ र कलबहादुरकाे घर बनाउन घैला भर्दैछाैँ´- केपी किरणले भन्नुभयो । `घडेरी किन्याैँ- घर बनाउन करिव ३ लाख उठिरहेको छ, अव घर बनाउन शुरुहुन्छ´- वहाँ भन्नुहुन्छ ।
याे कलबहादुरकाे घर बनाउने अभियान मात्र नभएर, मानवतावादी चेतकाे सँरक्षण र सहयाेगका लागि हातेमालो समेत भएकाे दर्बुङ – चितवन सम्पर्क समाजका अध्यक्ष केदार खनालले बताउनुभयो ।


