१६ फाल्गुन २०८१, शुक्रबार
बैतडी. शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शिक्षा ऐन आवश्यक रहेको उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनुभएको छ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको १८औँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले समग्र शैक्षिक क्षेत्रको विकासका लागि नयाँ शिक्षा ऐन ल्याइन लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ शिक्षा ऐन चाँडै आउनेछ, सबै शिक्षकहरूका मागलाई अधिकतम रूपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले उक्त ऐन ल्याउन लागेको हो ।”
राष्ट्रिय आवश्यकताका आधारमा अहिले एमाले र कांग्रेस मिलेर सरकार निर्माण गरिएको बताउँदै उहाँले अध्यादेशमार्फत ल्याएका कानुन अहिलेको आवश्यकता भएकाले संसद्बाट पारित गर्नुपर्नेमा जोड दिनुभयो ।शिक्षकहरूका तर्फबाट व्यक्त भएका मागलाई ऐनले सम्बोधन गर्ने दाबी गर्दै उहाँले यसको लागि सरकार लागिपरेको जानकारी दिनुभयो ।
दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा सुरु अधिवेशनबाट नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको नयाँ नेतृत्व चयन हुनेछ ।


