२०८१ पुस १८,बिहीबार
चितवन। बामपंथी नेता माेहनविक्रम सिँहद्वारा लिखित उपन्यास `कामरेड जलजला ´माथि चितवनमा सँवाद र समीक्षा सम्पन्न भएकाे छ ।
अखिल नेपाल बुद्धिजीवी सँघ चितवनले आयाेजना गरेकाे समीक्षा कार्यक्रममा जलजला माथि विभिन्न काेणबाट परिचर्चा चलेकाे थियाे । बहसमा सहभागी व्यक्तित्वहरुले उपन्यासमा सिङ्गो जीवन र जगत देखिएकाेमा खुशी व्यक्त गरेका थिए । उपन्यासकार माेहनविक्रम सिँहले प्रस्तुत उपन्यास आफ्नाे जिवनकाे परिघटना र अनुभवकाे प्रतिविम्व भएकाे बताउनुभएकाे थियाे ।
‘उपन्यासमा सम्पूर्ण विश्व, धर्ती, मानव समाज र समाजको मनोविज्ञानको अध्ययन, विश्लेषण र विवेचना गर्ने प्रयत्न गरिएको छ । उपन्यासले संसारका सबै महाद्वीप र महासागर, सम्पूर्ण मानव समाज र सुदूर अन्तरिक्षसम्मको परिभ्रमण गर्ने प्रयत्न गरेको छ’–सिँहले भन्नुभयाे।
२३ वर्ष लगाएर लेखिएको पुस्तकमा सम्पूर्ण संसार र नेपालका विभिन्न स्थानहरुको इतिहास सस्कृति र मानव जीवनको पनि अध्ययन गर्ने प्रयत्न गरिएको जलजला उपन्यासमा कैयौँ वास्तविक पात्र जोडिएको भन्दै सिंहले वास्तविक पात्रहरुको चित्रणले उपन्यासलाई यथार्थ धरातलमा स्थापित गर्न मद्दत पुगेको बताउनुभएकाे थियाे ।
पत्रकार रमेशकुमार पाैडेलले सहजिकरण गर्नुभएको समिक्षामा टिप्पणी गर्दै अधिवक्ता समेत रहनुभएका लेखक सरिता तिवारीले जलजला कितावमा सँसारका अनेक विधा र दृष्टिकोण झल्किएकाे पाएकाे बताउँदै भन्नुभयाे` ‘यस उपन्यासमा एआई छैन, त्यसबाहेक संसार छ’।
लेखकलाई यस किताबले पुस्तौ पुस्तासम्म चिनाईरहने धारणा राख्दै समीक्षक उदय अधिकारीले यो पुस्तक लेखकको जीवनीपरक आत्मकथा भएको बताउनुभयो ।
उपन्यास २ खण्ड, ८ भाग, ७२ परिच्छेद र दुई सय ७२ अङ्कमा विभाजन गरिएको छ । करिब पाँच लाख शब्द, रोयल साइजमा एक हजार तीन सय २० पृष्ठ र करिब पाँच सय पात्र छन् । उपन्यासमा सम्पूर्ण विश्व, धर्ती, मानव समाज र समाजको मनोविज्ञानको अध्ययन, विश्लेषण र विवेचना गर्ने प्रयत्न गरिएको छ । उपन्यासले संसारका सबै महाद्वीप र महासागर, सम्पूर्ण मानव समाज र सुदूर अन्तरिक्षसम्मको परिभ्रमण गर्ने प्रयत्न गरेको छ ।
‘कामरेड जलजला’ मंसिर १५ गते काठमाण्डौँमा लोकापर्ण गरिएको थियो । त्यसपछि कोहलपुर धनगढीमा कृतिमाथि समिक्षा गरिसकिएको छ ।
९० वर्ष भैसकेका सिँह नेपाली राजनीतिमा अनेक चर्चामा आएका एक प्रख्यात बामपंथी नेता हुनुहुन्छ । सैद्धान्तिक तथा राजनीति विषय र विश्व परिवेसका बारेमा धेर लेखि सक्नुभएका सिँहले अझै आफु दुईवटा कृति प्रकाशन गर्ने तैयारीमा रहेकाे बताउनुभएकाे छ ।


