२०८३ साउन २२, शुक्रबार
श्रीखबर सम्वाददाता,
बर्दिया श्रीखबर/ बढैयाताल गाउँपालिकाले अघि बढाएको शिक्षक, प्रधानाध्यापक तथा दरबन्दी मिलान प्रक्रियालाई लिएर गाउँपालिका र स्थानीय विद्यालयबीचको विवाद थप चर्किएको छ।
गाउँपालिका–९ स्थित जयकालिका माध्यमिक विद्यालयले आफ्नो विद्यालयलाई आवश्यक शिक्षकसमेत अन्यत्र सरुवा गरी विषय नमिल्ने शिक्षक पठाउने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूको आज बसेको बैठकले गाउँपालिकाको शिक्षक मिलान प्रक्रियाबारे विद्यालयको धारणा सार्वजनिक गर्दै सम्पूर्ण अभिभावकलाई सहभागी गराएर सामूहिक धारणा बनाउने निर्णय गरेको छ।
बैठकले भोलि शनिबार विद्यालय परिसरमा बृहत् अभिभावक भेला बोलाउने निर्णय गरेको हो। विद्यालय पक्षका अनुसार विद्यार्थीको सिकाइ, विषयगत शिक्षकको आवश्यकता र विद्यालयको वास्तविक अवस्थाको मूल्याङ्कन नगरी शिक्षक सरुवा तथा मिलान गर्दा त्यसको प्रत्यक्ष असर पठनपाठनमा पर्ने अवस्था सिर्जना भएको छ।
आफ्नो विद्यालयमा आवश्यक रहेका शिक्षक हटाएर विषयगत आवश्यकता पूरा नगर्ने शिक्षक पठाउनु गाउँपालिकाको निर्णयको औचित्यमाथि नै प्रश्न उठाउने विषय भएको विद्यालयको भनाइ छ।
बैठकले विद्यालयको आवश्यकताअनुसार विषयगत शिक्षकको व्यवस्थापन हुनुपर्ने, शिक्षक मिलान गर्दा विद्यालयको वास्तविक अवस्था र विद्यार्थी संख्यालाई आधार बनाउनुपर्ने तथा सरोकारवालासँग पर्याप्त छलफल र समन्वय गर्नुपर्ने निष्कर्ष निकालेको छ।
*- चार दलको ज्ञापनपत्रदेखि गाउँपालिका अध्यक्षको अडानसम्म बढैयातालमा शिक्षक मिलान विवाद केही दिनयता राजनीतिक तहमा समेत चर्किएको छ। गाउँपालिकाभित्र सक्रिय चार राजनीतिक दलले यसअघि गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक, प्रधानाध्यापक तथा दरबन्दी मिलान प्रक्रिया पारदर्शी र कानुनसम्मत नभएको भन्दै पुनरावलोकन गर्न माग गरेका थिए। दलहरूले प्रक्रिया एकपक्षीय ढंगले अघि बढाइएको, सरोकारवालासँग पर्याप्त परामर्श नगरिएको तथा विद्यालयको वास्तविक आवश्यकता नहेरी निर्णय गरिएको आरोप लगाउँदै निर्णय रोक्न तथा पुनः छलफल गर्न माग गरेका थिए।
तर गाउँपालिका अध्यक्ष त्रिपाठीले भने निर्णयबाट पछि नहट्ने अडान सार्वजनिक गरिसकेका छन्। गाउँपालिकाले शिक्षा सुधार र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तथा दरबन्दी व्यवस्थापन आवश्यक रहेको बताउँदै आएको छ। गाउँपालिकाले आफ्नो निर्णय शिक्षा सम्बन्धी कानुनी व्यवस्था तथा शिक्षक दरबन्दी मिलानसम्बन्धी प्रचलित कार्यविधिअनुसार भएको दाबी गर्दै आएको छ।
अध्यक्ष त्रिपाठीले व्यक्तिगत असन्तुष्टिभन्दा समग्र शैक्षिक सुधारलाई प्राथमिकता दिइने बताउँदै निर्णय कार्यान्वयन हुने स्पष्ट पारेका छन्।
जयकालिका माविको प्रश्न : ‘शिक्षक मिलान हो कि विद्यालय कमजोर बनाउने निर्णय ?’
यही पृष्ठभूमिमा जयकालिका माध्यमिक विद्यालयले भने आफ्नो विद्यालयको वास्तविक आवश्यकतालाई बेवास्ता गरेर गरिएको शिक्षक व्यवस्थापनले शैक्षिक सुधारको उद्देश्य पूरा गर्न नसक्ने जनाएको छ।
विद्यालय पक्षले शिक्षक मिलानको नाममा विद्यार्थीलाई आवश्यक पर्ने विषयगत शिक्षक हटाएर अर्को विषयका शिक्षक पठाइए त्यसले विद्यार्थीको पठनपाठन प्रभावित हुने र विद्यालयको शैक्षिक वातावरण कमजोर बन्न सक्ने चिन्ता व्यक्त गरेको छ। विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूको बैठकले भोलिको अभिभावक भेलाबाट विद्यालयको अवस्थाबारे व्यापक छलफल गरी गाउँपालिकाको निर्णयप्रति विद्यालय समुदायको साझा धारणा निर्माण गर्ने तयारी गरेको छ।
अब जयकालिका माविको अभिभावक भेलाले शिक्षक मिलानसम्बन्धी विवादलाई कुन दिशामा लैजान्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ। शिक्षक व्यवस्थापनको विषयमा गाउँपालिकाले आफ्नो निर्णय कार्यान्वयन गर्ने अडान राखेको अवस्थामा विद्यालय र अभिभावक पक्षले पनि आफ्नो विद्यालयको आवश्यकता र विद्यार्थीको हितलाई केन्द्रमा राखेर प्रतिवादको तयारी गरेपछि बढैयातालको शिक्षक मिलान विवाद थप पेचिलो बन्दै गएको छ।




