२०८२ चैत २३, साेमबार
श्रीखबर/ भरतपुर,उद्यमशीलता विकास, स्वदेशी उत्पादन प्रवर्द्धन र औद्योगिक क्षेत्रको समग्र सुदृढीकरण गर्ने उद्देश्यसहित चितवनमा ‘दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८२’ आयोजना हुने भएको छ। चितवन उद्योग संघको आयोजनामा यही २०८२ चैत २७ देखि २९ गतेसम्म भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा प्रदर्शनी सञ्चालन हुने भएको हाे।

प्रदर्शनीमार्फत नयाँ उद्यमी सिर्जना, औद्योगिक उत्पादकत्व वृद्धि, उद्योगमैत्री नीतिका लागि बहस पैरवी, रोजगारी सिर्जना तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै स्वदेशी उद्योगको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
साथै, स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने उद्देश्य पनि लिइएको छ। आयोजकका अनुसार प्रदर्शनीमा उत्पादन तथा सेवामूलक उद्योगका लागि उपयोगी आधुनिक मेशिन तथा प्रविधिको प्रदर्शन गरिनेछ। हस्तकला, गार्मेन्ट, निर्माण सामग्री, प्लास्टिक, प्रिन्टिङ, प्याकेजिङ, कृषि, ऊर्जा लगायतका क्षेत्रका स्वदेशी उत्पादनको प्रदर्शनी तथा प्रवर्द्धन गरिनेछ।

प्रदर्शनीको दोस्रो दिन “नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य” विषयमा निजी क्षेत्रको विशेष कार्यपत्र प्रस्तुति सहित विज्ञ र सरोकारवाला निकायहरूको सहभागितामा प्यानल छलफलसमेत आयोजना गरिनेछ।
निःशुल्क प्रवेश व्यवस्था गरिएको प्रदर्शनीमा २५ हजारभन्दा बढी उद्योगी तथा व्यवसायीको सहभागिता रहने अपेक्षा गरिएको छ भने स्वदेशी र विदेशी गरी १०० भन्दा बढी स्टलहरू रहनेछन्।
प्रदर्शनीले स्वदेशी वस्तुको प्रवर्द्धनमार्फत आयात प्रतिस्थापन र निर्यात वृद्धिमा टेवा पुर्याउने, प्रदेशबीच व्यवसायिक सञ्जाल विस्तार गर्ने, ज्ञान, अनुभव र प्रविधिको आदानप्रदानलाई मजबुत बनाउने तथा नयाँ उद्यमी सिर्जनामा सहयोग गर्ने विश्वास गरिएको छ।
साथै, लगानीकर्ता र स्टार्टअपबीच प्रत्यक्ष ‘बिटुबि’ भेटघाटको अवसरसमेत प्रदान गरिनेछ। प्रदर्शनीमा सातै प्रदेशका स्टलमार्फत राष्ट्रिय प्रतिनिधित्व सुनिश्चित गर्ने तयारी भइरहेको छ। विशेष आकर्षणका रूपमा राष्ट्रिय आविष्कार केन्द्रका प्रविधि तथा मेशिनरी र “मेक इन नेपाल–स्वदेशी अभियान” अन्तर्गतका उद्योगहरूको स्टल रहने जनाइएको छ।
कृषि, स्वास्थ्य, सूचना प्रविधि र उत्पादन क्षेत्रका आधुनिक प्रविधिको प्रदर्शनले उद्योगी तथा अवलोकनकर्तालाई प्राविधिक ज्ञान अभिवृद्धि गर्ने, साना तथा घरेलु उद्योगलाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने तथा उत्पादनको ब्रान्डिङ र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्वमा आयोजना हुने प्रदर्शनीमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र मुख्य प्रवर्द्धक रहेका छन्।
यसका साथै विभिन्न निजी तथा संस्थागत साझेदारहरूको सहकार्यमा आयोजना हुन लागेको प्रदर्शनीले स्वदेशी उद्योग, प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नेपालको औद्योगिक भविष्यलाई नयाँ दिशा दिने अपेक्षा रहेकाे आयोजकले जनाएको छ।




