२०८३ असाेज २४, शनिबार
`महिनावारीदेखि मानसिक स्वास्थ्यसम्म परामर्श, अधिकांशमा छालासम्बन्धी समस्या´
@ कृष्ण खनाल
श्रीखबर, चितवन। सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न चेपाङ बालबालिकालाई आवासीय सुविधा प्रदान गर्दै आएको सिद्धि छात्रावासमा महिनावारी स्वास्थ्यदेखि मानसिक स्वास्थ्यसम्मका सेवा समेटिएको स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरबाट ६५ जनाले औषधिसहित उपचार तथा स्वास्थ्य परामर्श सेवा लिएका छन्। असोज २४ गते सञ्चालन गरिएको शिविरमा महिनावारी तथा व्यक्तिगत स्वास्थ्य, मानसिक स्वास्थ्य र छालासम्बन्धी समस्याको पहिचान, उपचार तथा परामर्शमा जोड दिइएको थियो।
शिविरमा सहभागी अधिकांशमा छालासम्बन्धी समस्या देखिएको आयोजकले जनाएको छ। समाजसेवी, रेडक्रसकर्मी तथा स्वास्थ्यकर्मी सविना कँडेलको आयोजना, योजना तथा व्यवस्थापनमा सञ्चालन गरिएको शिविरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए।
शिविरमा स्वास्थ्य परीक्षण र परामर्शसँगै आवश्यक औषधि वितरण तथा सेनेटरी प्याड उपलब्ध गराउनसमेत सहयोग गरिएको थियो। शिविर सफल बनाउन डा. विश्वज्योति श्रेष्ठ, डा. सुभाष बस्नेत, सविना, कुश्मी सिस्टर, सुमी सिस्टर, सचिन, मिसन, सरिता र देविकालगायतले समय, श्रम तथा विशेषज्ञ सेवा प्रदान गरेका थिए।
त्यसैगरी, सेनेटरी प्याड उपलब्ध गराएर सहयोग गर्ने डा. सृजना भुर्तेल, कृष्णा, माया तथा MRR तथा प्रशासनिक कार्यमा सहयात्री वेटर चितवन प्रति विशेष आभारी रहेको शिविर सञ्चालन याेजनाकार कँडेले बताउनुभयाे। औषधि वितरणमा फार्मासिस्ट प्रभात, भोजनारायण, बिपन तथा बेटर चितवनले महत्त्वपूर्ण सहयोग गरेका थिए।
सिद्धि छात्रावासका अध्यक्ष भरत चेपाङले छात्रावासमा रहेका बालबालिका तथा अन्य सेवाग्राहीलाई औषधिसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सविना कँडेलप्रति आभार व्यक्त गरेका छन्। आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका चेपाङ बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको यस्तो स्वास्थ्य शिविरले उनीहरूको स्वास्थ्य समस्या पहिचान गर्न र आवश्यक परामर्श तथा उपचारमा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य शिविरको व्यवस्थापन/ आयाेजक सविना कँडेलले चेपाङ बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरिन्। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा आर्थिक कठिनाइका कारण सहजै उपचार प्राप्त गर्न नसक्ने समुदायलाई सहयोग गर्न पाउनु सन्तोषको विषय भएको उनको भनाइ छ। महिनावारी स्वास्थ्य, व्यक्तिगत सरसफाइ, मानसिक स्वास्थ्य र छालासम्बन्धी समस्याबारे सचेतना अभिवृद्धि गर्नु शिविरको अर्को महत्त्वपूर्ण पक्ष थियो।
विशेषगरी किशोरकिशोरीमा देखिन सक्ने स्वास्थ्य समस्याबारे समयमै जानकारी दिने र आवश्यक परामर्श उपलब्ध गराउने यस्ता कार्यक्रमले स्वास्थ्यप्रति सचेत व्यवहार विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। शिविर सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, सहयोगी व्यक्ति तथा संस्थाप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
आगामी दिनमा पनि सीमान्तकृत समुदाय र आवश्यकतामा रहेका बालबालिकालाई लक्षित गरी यस्ता सेवामूलक कार्यक्रम सञ्चालन गर्न सहकार्यलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।




