२०८३ असाेज २२, बिहीबार
`मैले बनाएकाे पार्टी छाेड्नु जिवनकाे ठूलाे गल्ती हाे, पस्चाताप छ´
@कृष्ण खनाल
श्रीखबर।पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल नेपाली कम्युनिस्ट आन्दोलनका पुराना र प्रभावशाली नेतामध्ये एक हुन्।
२०३९ सालदेखि तत्कालीन मालेको नेतृत्व गरेका खनाल २०६५ सालको आठौँ महाधिवेशनबाट एमाले अध्यक्ष बने र २०७१ सालको नवौँ महाधिवेशनसम्म पार्टीको नेतृत्व गरे। त्यही समयदेखि एमालेभित्र झलनाथ–माधव समूह र केपी ओली समूहबीचको नेतृत्व संघर्ष क्रमशः गहिरिँदै गएको थियो।
२०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि ओली–प्रचण्डबीचको शक्ति संघर्ष चर्कियो। त्यस क्रममा खनाल र माधव नेपाल ओलीको विपक्षी धारमा उभिए। नेकपा विघटनपछि २०७८ भदौमा माधव नेपालसँगै खनालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गर्ने बाटो रोजे। तर, वर्षौँपछि खनाल स्वयंले त्यही निर्णयलाई “आफ्नो जीवनकै सबैभन्दा ठूलो ब्लन्डर” भनेका छन्।
हालैको संवादमा उनले आफू भारतको अस्पतालमा गम्भीर स्वास्थ्य अवस्थामा रहेका बेला पार्टीभित्रको अवस्थाबारे गलत सूचना पाएर एमाले छाड्ने निर्णयमा पुगेको बताए।पछि १० बुँदे सहमति भइसकेको थाहा पाएपछि आफू स्तब्ध भएको उनको भनाइ छ।
खनालले एमालेलाई आफ्नो जीवन, संघर्ष र हजारौँ कार्यकर्ताको योगदानबाट बनेको पार्टी भन्दै “मैले बनाएको पार्टीबाट म आफैं बाहिरिनु अक्षम्य भूल भयो” भन्ने भाव व्यक्त गरेका छन्। उनले ओलीसँग राजनीतिक मतभेद भए पनि आफू बिरामी हुँदा ओलीले गरेको मानवीय सहयोगको समेत खुलेर प्रशंसा गरेका छन्।
शीतयुद्धदेखि पश्चातापसम्म
झलनाथ खनालको पछिल्लो अभिव्यक्तिलाई केवल व्यक्तिगत आत्मस्वीकारोक्ति मात्र मान्ने कि एमालेभित्रको लामो नेतृत्व संघर्ष, गुटीय राजनीति र कम्युनिस्ट आन्दोलनको विभाजनको पुनर्मूल्याङ्कनका रूपमा हेर्ने भन्ने प्रश्न पनि उठेको छ।
विडम्बना के छ भने, एमाले छाडेको निर्णयमा पश्चाताप व्यक्त गरेपछि पनि खनालको राजनीतिक यात्रा पुनः अर्को मोडमा पुगेको छ। पछिल्लो समय उनले ‘समाजवादी जागरण अभियान’ अघि बढाउँदै विभाजित वाम शक्तिलाई एक ठाउँमा ल्याउने र कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठन गर्ने धारणा अघि सारेका छन्। एक समय एमालेभित्र ओलीसँगको शीतयुद्धले पार्टी विभाजनतर्फ धकेलेका झलनाथ आज आफ्नै विगतको निर्णयलाई ‘ब्लन्डर’ भन्दै समीक्षा गरिरहेका छन्।
नेपाली कम्युनिस्ट आन्दोलनमा राजनीति कहिलेकाहीँ यस्तै घुम्तीमा आइपुग्छ—जहाँ हिजोको विद्रोह आज पश्चाताप बन्छ, र पश्चाताप फेरि नयाँ एकताको अभियानको सुरुवात।




